धादिङको थाक्रे बस दुर्घटना अपडेट : टिपर चालकको मृत्यु, दुई घाइते
धादिङ, २५ माघ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका–६ दसकिलोमा शनिबार बिहान दुईवटा बस एकापसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
दुर्घटनामा परी धादिङको धुनिबेँसी नगरपालिका–९ स्याउलेका ३५ वर्षीय सुजन तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। आफ्नो टिपर सडक किनारमा रोकेर चिया पिइरहेका तामाङलाई अनियन्त्रित बसले ठक्कर दिएको थियो। गम्भीर घाइते भएका उनलाई उपचारका लागि काठमाडौँस्थित ट्रमा सेन्टर लगिएकोमा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्।
प्रहरीका अनुसार आज बिहान करिब साढे ७ बजे दाङबाट काठमाडौँतर्फ आउँदै गरेको प्रदेश ३–०१–००६ ख १५५२ नम्बरको बस र काठमाडौँबाट रसुवातर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२०६ नम्बरको बस एकापसमा ठोक्किएका थिए।
ठक्कर खाएपछि रसुवातर्फ जाँदै गरेको बस अनियन्त्रित भई सडक किनारमा रहेको खगेश्वर शर्माको टिनले छाएको कच्ची चिया पसलमा छिरेको थियो। सोही क्रममा पसलमा चिया पिइरहेका तामाङ र पसल सञ्चालक दुर्घटनामा परेका थिए।
दुर्घटनामा पसल सञ्चालक बाँकेको वैजनाथ गाउँपालिका–१ का ५४ वर्षीय खगेश्वर शर्मा र रसुवा जाँदै गरेको बसमा सवार ८ वर्षीया बालिका सफलता पुलामी मगर घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दुर्घटनामा संलग्न दुवै बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका कारण केही समय अवरुद्ध भएको राजमार्ग अहिले सुचारु भइसकेको छ।