विश्वकप क्रिकेट : इंग्ल्याण्डविरुद्ध नेपालको सानदार सुरुवात, सन्दीपले लिए तेस्रो विकेट

भारत, २५ माघ । आइसिसी पुरुष टी-२० विश्वकप क्रिकेट अन्तर्गत समूह ‘सी’ को आफ्नो पहिलो खेलमा नेपालले शक्तिशाली प्रतिद्वन्द्वी इंग्ल्याण्डविरुद्ध आक्रामक बलिङ सुरुवात गरेको छ। मुम्बईको वानखडे स्टेडियममा टस हारेर बलिङ गरिरहेको नेपालले सात ओभरको समाप्तिसम्म इंग्ल्याण्डका तीन महत्वपूर्ण विकेट झार्न सफल भएको छ।

नेपालका लागि तेस्रो सफलता लेग स्पिनर सन्दीप लामिछानेले दिलाउनुभएको हो। सन्दीपले छैटौँ ओभरको पहिलो बलमै इंग्ल्याण्डका ब्याटर टम ब्यान्टनलाई एलबिडब्लुको धरापमा पार्दै पभेलियन फर्काउनुभयो।

यसअघि नेपालका लागि दोस्रो सफलता नन्दन यादवले दिलाउनुभएको थियो। आफ्नो डेब्यु अन्तर्राष्ट्रिय खेल खेलिरहेका नन्दनले ४.३ ओभरमा इंग्ल्याण्डका खतरनाक ओपनर एवं कप्तान जोस बट्लरलाई आउट गरेर सबैलाई अचम्मित पार्नुभयो। बट्लर विकेटकिपर आसिफ शेखको हातबाट क्याच आउट हुन पुगेका थिए।

नेपाललाई पहिलो सफलता भने दोस्रो ओभरमै मिलेको थियो। स्पिनर शेर मल्लले दोस्रो ओभरको पहिलो बलमै अर्का ओपनर फिल साल्टलाई आउट गर्दै नेपाललाई उत्साही सुरुवात दिलाउनुभएको थियो।

सात ओभरको खेल सकिँदा इंग्ल्याण्डले ३ विकेट गुमाएर ६४ रन बनाएको छ। विश्वविजेता टोलीका दुवै ओपनरलाई सस्तैमा समेटेपछि नेपाली टोली र स्टेडियममा उपस्थित नेपाली समर्थकहरू निकै उत्साहित देखिएका छन्।