तस्करीकाे गोदाम छापामार्दा सशस्त्र प्रहरीमाथि आक्रमण, वीरगञ्जबाट ४ जना पक्राउ
वीरगञ्ज, २७ माघ । वीरगञ्जको एक अवैध गोदाममा छापा मार्न पुगेको सशस्त्र प्रहरी टोलीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । सोमबार आदर्शनगरस्थित गोदाममा छापा मार्ने क्रममा स्थानीय व्यापारीहरूको समूहले सुरक्षाकर्मीमाथि आक्रमण गरेको थियो ।
भन्सार छलीका सामग्री भण्डारण गरिएको सूचनाका आधारमा वीरगञ्ज भन्सार कार्यालय र सशस्त्र प्रहरीको संयुक्त टोलीले स्थानीय मदनप्रसाद गुप्ताको घरमा छापा मारेको थियो । सोही क्रममा भएको झडपमा तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् भने सशस्त्रका दुईवटा सवारीसाधनमा तोडफोड गरी क्षति पुर्याइएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेतका अनुसार घटनास्थलको सीसीटीभी फुटेजका आधारमा पहिचान गरी सोमबार रातिसम्म चार जनालाई नियन्त्रणमा लिइएको हो । “सशस्त्र प्रहरीमाथि आक्रमण गर्नेहरूको पहिचान र थप संलग्नताका बारेमा अनुसन्धान भइरहेको छ,” डीएसपी बस्नेतले भन्नुभयो, “पक्राउ परेकाहरूको नाम अनुसन्धानपछि मात्र सार्वजनिक गरिनेछ ।”
तनावका बीच सुरक्षाकर्मीको टोलीले उक्त गोदामबाट करिब १२ लाख ५० हजार रुपैयाँ बराबरको अवैध कपडा बरामद गरेको छ । पक्राउ परेकाहरूमाथि थप कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।