६,७४३ वटै वडामा सञ्चालन हुनेछ मतदाता शिक्षा कार्यक्रम, फागुन ३ देखि १७ सम्म स्वयंसेवक परिचालन
काठमाडौँ, २८ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले देशव्यापी ‘मतदाता शिक्षा विशेष कार्यक्रम’ सञ्चालन गर्ने भएको छ।
मतदान प्रक्रियालाई सहज र सरल बनाउँदै बदर मतको प्रतिशत घटाउने उद्देश्यले आयोगले आगामी फागुन ३ गतेदेखि १७ गतेसम्म यो अभियान चलाउन लागेको हो।
आयोगका अनुसार देशभरका ७५३ वटै स्थानीय तहका कुल ६ हजार ७४३ वटा वडामा मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिनेछ। प्रत्येक वडामा एक–एक जना स्वयंसेवक खटाएर टोल र बस्तीमै पुगी मतदातालाई शिक्षित बनाइने योजना छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले स्वयंसेवकहरूले नमूना मतपत्रको माध्यमबाट मतदातालाई मतदान प्रक्रिया र निर्वाचनको महत्त्वबारे जानकारी दिने बताउनुभयो। “स्वयंसेवकहरू मतदाताको घरमै पुग्नेछन्,” उहाँले भन्नुभयो, “उनीहरूले मतपत्रमा कसरी छाप लगाउने र कसरी पट्याउने भन्नेबारे नमूना मतपत्रबाटै प्रयोगात्मक जानकारी गराउनेछन्।”
कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि आयोगले प्रत्येक स्थानीय तहमा एक–एक जना सम्पर्क व्यक्ति तोकेको छ। ती सम्पर्क व्यक्तिहरूले नै आफ्नो क्षेत्रमा भइरहेको मतदाता शिक्षा कार्यक्रमको अनुगमनकर्ताका रूपमा काम गर्नेछन्। मतदाता शिक्षाले निर्वाचनमा जनसहभागिता बढाउन र बदर मत न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने आयोगको विश्वास छ।
आयोगले यो विशेष अभियानलाई सफल बनाउन सातै प्रदेश सरकार, ७५३ वटै स्थानीय तह, चुनावी प्रतिस्पर्धामा रहेका राजनीतिक दल, उम्मेदवार र सञ्चार जगत लगायत सम्पूर्ण सरोकारवालाहरूलाई सहयोगका लागि अनुरोध गरेको छ।
आम नागरिकलाई आफ्नो मताधिकारको महत्त्व र मतदानको सही तरिका बुझाउन सकिए मात्र निर्वाचनको विश्वसनीयता र स्वच्छता अझ बढ्ने आयोगको निष्कर्ष छ।