काठमाडौँको हावा अझै ‘अस्वस्थ’: विश्वको प्रदूषित सहरको सूचीमा आठौँ स्थानमा
काठमाडौँ, २८ माघ । काठमाडौँ उपत्यकाको वायु प्रदूषण बुधबार पनि ‘अस्वस्थ’ तहमा पुगेको छ । ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज मध्याह्नसम्म काठमाडौँको वायु प्रदूषण १९२ एक्युआई मापन गरिएको छ, जसले जनस्वास्थ्यमा गम्भीर असर पार्ने देखिएको छ ।
गत आइतबार १७५ एक्युआई रहेको प्रदूषण मंगलबार र बुधबार लगातार १९२ मा पुगेको हो । लामो समयदेखि वर्षा नहुँदा र हावा नचल्दा उपत्यकाको वायुमण्डलमा प्रदूषक तत्वहरू थुप्रिएको वातावरण विभागले जनाएको छ ।
वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार काठमाडौँ उपत्यका कचौरा आकारको भएकाले यहाँको प्रदूषण सजिलै बाहिर जान पाउँदैन । “हावा नचल्दा र वर्षा नहुँदा धुवाँधुलो वायुमण्डलमै तैरिएर बसिरहेको छ,” उहाँले भन्नुभयो, “उद्योग, तीव्र विकास निर्माण र सीमापारिबाट भित्रिने प्रदूषणका कारण हावाको गुणस्तर खस्किएको हो ।” वर्षा नभएसम्म यो अवस्थामा सुधार आउने सम्भावना न्यून रहेको उहाँको भनाइ छ ।
आज काठमाडौँ विश्वकै प्रदूषित सहरमध्ये आठौँ स्थानमा सूचीकृत भएको छ । विश्वको सबैभन्दा प्रदूषित सहरको पहिलो सूचीमा भारतको नयाँ दिल्ली (२४७ एक्युआई) रहेको छ ।