ओलीको घरदैलोमा गौरादहबासीले भने: ‘एमाले दुवो जस्तो हो, कसैले मासेर मासिँदैन’
दमक, २८ माघ । झापा क्षेत्र नं. ५ का उम्मेदवार एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको चुनावी घरदैलोका क्रममा गौरादहका मतदाताहरूले एमालेलाई ‘दुवो’ को संज्ञा दिँदै उच्च मनोबल प्रदान गरेका छन् ।
बुधबार गौरादहका विभिन्न टोलमा पुग्नुभएका अध्यक्ष ओलीलाई स्वागत गर्दै स्थानीयले एमाले दुवो जस्तै ननासिने र नमासिने पार्टी भएको बताएका हुन् । पूर्वप्रधानमन्त्री समेत रहनुभएका ओली चारआली चोक पुग्दा मतदाताहरूले भन्नुभयो, “एमाले दुवो हो, कसैले डाहा गरेर यो नासिँदैन । गाउँ–गाउँमा एमालेको जरा रहेकाले तपाईं ढुक्क हुनुहोस् ।”
अध्यक्ष ओली विगत चार दिनदेखि आफ्नो निर्वाचन क्षेत्रका विभिन्न बस्तीहरूमा पुगेर मतदातासँग प्रत्यक्ष साक्षात्कार गरिरहनुभएको छ । सो क्रममा उहाँले मतदाताका समस्या सुन्ने र आगामी योजनाबारे छलफल गर्ने गर्नुभएको छ ।
चुनावको मिति नजिकिएसँगै ओलीले आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो अभियानलाई तीव्र पार्नुभएको छ । मतदाताहरूको उत्साहजनक सहभागिताले एमाले पंक्तिमा थप ऊर्जा थपेको स्थानीय नेताहरूले बताएका छन् । उनीहरूले ओलीलाई आफ्नो क्षेत्रको विकास र समृद्धिको संवाहकका रूपमा चित्रण गर्दै आगामी निर्वाचनमा भारी मतले जिताउने प्रतिबद्धता समेत जनाएका छन् ।