अख्तियार प्रमुखसहित १० जनालाई ज्यान मार्ने धम्की दिने पाठक फिलिपिन्सबाट पक्राउ : ६ मुद्दामा अनुसन्धान सुरु

काठमाडौँ, माघ २८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तसहित १० जनालाई ज्यान मार्ने धम्की दिएको अभियोगमा पक्राउ परेका प्रकाश पाठकविरुद्ध ६ वटा मुद्दामा अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

काभ्रेपलान्चोकको तेमाल गाउँपालिका-१ घर भई फिलिपिन्समा बस्दै आएका ३४ वर्षीय पाठकलाई इन्टरपोलको समन्वयमा पक्राउ गरी आजै नेपाल ल्याइएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार पाठकलाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएकोमा अदालतले अनुसन्धानका लागि तीन दिनको म्याद थप गरेको छ ।

पाठकले आफूलाई ‘एक्स्ट्रिमिस्ट ग्रुप’ वा ‘नेपाल इजिएन’ को अध्यक्ष दाबी गर्दै सन् २०२४ अक्टोबर २२ (कात्तिक ६ गते) मा आफ्नो इमेलमार्फत अख्तियारका प्रमुख आयुक्तलगायत १० जनालाई ज्यान मार्ने धम्की दिएका थिए । उक्त घटनापछि प्रहरीको खोजी सूचीमा रहेका उनलाई नेपाल प्रहरीले इन्टरपोलमार्फत फिलिपिन्स प्रहरीसँग समन्वय गरी नेपाल झिकाएको हो ।

प्रहरीका अनुसार पाठकविरुद्ध गम्भीर प्रकृतिका ६ वटा विभिन्न शीर्षकमा मुद्दा दर्ता गरिएको छ । 

प्रहरीले निज पाठकको संलग्नता र धम्की दिनुको उद्देश्यबारे थप विस्तृत अनुसन्धान भइरहेको जनाएको छ । उनीमाथि लगाइएका मुद्दाहरूको संवेदनशीलतालाई ध्यानमा राख्दै प्रहरीले उच्च प्राथमिकताका साथ कानुनी प्रक्रिया अघि बढाएको छ ।