निर्वाचन आयोगद्वारा नागरिक शिक्षा प्रवर्द्धनका लागि स्रोत सामग्री सार्वजनिक, वेबसाइटमा पनि हेर्न सकिने

काठमाडौँ, २९ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले ‘नागरिक शिक्षा प्रवर्द्धन स्रोत सामग्री’ तयार पारेको छ । मतदातालाई निर्वाचन, लोकतन्त्र र आफ्नो संवैधानिक अधिकारका बारेमा सुसूचित गराउने उद्देश्यले आयोगले विभिन्न विषयहरू समेटेर यो सामग्री सार्वजनिक गरेको हो ।

आयोगले तयार पारेको स्रोत सामग्रीमा निम्न मुख्य विषयहरूलाई समावेश गरिएको छ:
लोकतन्त्र र निर्वाचनको महत्त्व ।
समावेशिता र निर्वाचनमा सबैको प्रतिनिधित्व ।
मतदाता नामावली दर्ता र मतदानको सही प्रक्रिया ।
निर्वाचनसम्बन्धी संवैधानिक र कानुनी व्यवस्था ।
राजनीतिक दलको भूमिका र आचारसंहिता ।
आयोगले यी सबै जानकारीहरू समेटिएको ‘नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ आम नागरिकको सहज पहुँचका लागि आफ्नो आधिकारिक वेबसाइट (www.election.gov.np) मा उपलब्ध गराएको छ ।

आयोगका सहप्रवक्ता कुलबहादुर जिसीका अनुसार यी सामग्रीहरू केवल आयोगका लागि मात्र नभई सरकारी निकाय, गैरसरकारी संस्था, नागरिक समाज र शिक्षा क्षेत्रमा कार्यरत व्यक्तिहरूका लागि उपयोगी हुनेछन् । “यी सामग्रीको प्रयोग गरी जोसुकैले पनि समुदायस्तरमा नागरिक शिक्षाका कार्यक्रमहरू सञ्चालन गर्न सक्नेछन्,” उहाँले भन्नुभयो ।

निर्वाचनको मिति नजिकिँदै गर्दा आयोगले मतदाता शिक्षा कार्यक्रमलाई वडा र टोल तहसम्म लैजाने तयारी गरेको छ । आगामी फागुन १ गतेदेखि देशभर व्यापक रूपमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने र यसले बदर मत घटाउन तथा मतदाता सहभागिता बढाउन सहयोग पुग्ने आयोगको विश्वास छ ।