रामेछाप बस दुर्घटना: ८ बुँदे सहमतिपछि शव बुझ्न आफन्त तयार, बेपत्ताको खोजी जारी
रामेछाप, २८ माघ । रामेछापको मन्थली नगरपालिकास्थित सेलेघाटमा मंगलबार भएको बस दुर्घटनाका मृतकका आफन्त र प्रशासनबीच ८ बुँदे सहमति भएको छ । बुधबार दिनभर मन्थलीमा भएको तनावपूर्ण प्रदर्शनपछि राति भएको सहमतिसँगै पीडित परिवार शव बुझ्न तयार भएका हुन् ।
सहमतिपछि मृतकका १० जना परिवारले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् । रामेछापका प्रहरी नायब उपरीक्षक (डीएसपी) भोला भट्टका अनुसार शवहरूको पोस्टमार्टम गरी परिवारलाई जिम्मा लगाउने प्रक्रिया सुरु गरिएको छ ।
जिल्ला सुरक्षा समिति, पीडित परिवार र अरनिको यातायात सेवा प्रालिबीच भएको वार्तामा घाइतेहरूको उपचारमा कुनै कसर बाँकी नराख्ने र मृतकका परिवारलाई कानुनबमोजिम प्राप्त हुने क्षतिपूर्ति तत्काल उपलब्ध गराउने सहमति भएको छ । थप क्षतिपूर्तिका लागि जिल्ला सुरक्षा समितिले व्यवसायीसँग सहजीकरण गर्ने निर्णय भएको छ ।
साथै, सवारी चालकलाई कडा कानुनी कारबाही गर्ने र दुर्घटनामा परेर बेपत्ता भएकाहरूको खोजी कार्यलाई तीव्रता दिने सहमति पनि भएको छ । बेपत्ता भएकाहरूका परिवारलाई पनि मृतक सरह नै क्षतिपूर्ति उपलब्ध गराइनेछ ।
उचित क्षतिपूर्ति र दोषीलाई कारबाहीको माग गर्दै पीडित पक्षले बुधबार दिनभर मन्थलीमा प्रदर्शन गरेका थिए । प्रदर्शनले उग्र रूप लिएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्याँस प्रहार गरेको थियो ।
तामाकोसी नदीमा बस खस्दा बेपत्ता भएका ३ जनाको खोजी कार्य जारी छ । बेपत्ता हुनेहरूमा रामेछापको उमाकुण्ड गाउँपालिकाका २४ वर्षीय विशाल सुनुवार, लिखु तामाकोसीकी ८ वर्षीया रेमिसा तामाङ र मन्थलीका ९ वर्षीय क्रिचन तामाङ रहेका छन् ।
उनीहरूको खोजीका लागि सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बेस खुर्कोटबाट १० जना गोताखोरसहितको टोली र नेपाली सेना परिचालन गरिएको सशस्त्र प्रहरी बलका सह-प्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले जानकारी दिए ।