पुल बन्ने सुनिश्चितता भएपछि म्याग्दीखोला जलविद्युत् आयोजनाको अवरोध हट्यो, एक महिनापछि काम सुचारु
म्याग्दी, २८ माघ । म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको दरवाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य एक महिनापछि सुचारु भएको छ । दाङखोलामा मोटरेबल पुल निर्माणको माग गर्दै स्थानीयले गरेको अवरोध बिहीबारदेखि हटेको हो ।
धवलागिरि गाउँपालिकाका बासिन्दाले गत पुस २५ गतेदेखि आयोजनाको काम ठप्प पारेका थिए । ६ वर्षअघि ठेक्का सम्झौता भए पनि पुल निर्माण सुरु नभएपछि आन्दोलित भएका स्थानीय र आयोजना पक्षबीच चालु आर्थिक वर्षभित्रै पुल निर्माण सुरु गर्ने सहमति भएपछि आन्दोलन फिर्ता लिइएको हो ।
दरवाङ–दाङखोला–ताकम–लुलाङ सडक खण्डअन्तर्गत मालिका र धवलागिरिको सिमानामा पर्ने दाङखोलामा १८ मिटर लामो पुल निर्माणका लागि वि.सं. २०७६ जेठ २२ गते ठेक्का सम्झौता भएको थियो । तर, प्रस्तावित पुलको ठाउँमा जलविद्युत् आयोजनाको बाँध (ड्याम) को डुबान क्षेत्र पर्ने भएपछि विवाद सुरु भएको थियो ।
आयोजनाले पुललाई साबिकको स्थानभन्दा २०० मिटर माथि बनाउन आग्रह गरेको र त्यसक्रममा निर्माण व्यवसायी अदालत जाँदा काम रोकिएको थियो । लामो समयसम्म पुल नबन्दा गुर्जा, लुलाङ, मुना, मुदी र ताकमका बासिन्दालाई आवतजावतमा निकै सास्ती हुँदै आएको छ ।
धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरका अनुसार राजनीतिक दल र स्थानीय अगुवाहरूसँगको परामर्शमा आयोजना निर्माणलाई अघि बढ्न दिने निर्णय भएको हो । “चालु आर्थिक वर्षभित्रै पुल निर्माण सुरु हुने सुनिश्चितता भएपछि हामीले आन्दोलन फिर्ता लिएका हौँ,” उनले भने ।
धौलागिरि कालिका हाइड्रोका प्रबन्ध निर्देशक हर्कमान मगरले कानुनी प्रक्रिया पूरा गरी जति सक्दो छिटो पुल निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् ।
वि.सं. २०७५ मा निर्माण गरिएको अस्थायी पुल जीर्ण भएपछि अहिले सो क्षेत्रका बासिन्दाले जोखिमपूर्ण यात्रा गर्दै आएका छन् । आयोजना सुचारु भएसँगै अब जलविद्युत् निर्माण र पुलको काम सँगसँगै अघि बढ्ने अपेक्षा गरिएको छ ।