दैलेखमा चक्कु प्रहारबाट एक किशोरको हत्या, दुई जना पक्राउ
काठमाडौँ, माघ २९ । दैलेखको दुल्लू नगरपालिका-४ शान्ति बजारमा चक्कु प्रहार गरी १६ वर्षीय एक किशोरको हत्या भएको छ। फुटबल खेलेर घर फर्किँदै गरेका स्थानीय प्रकाश खनालको चक्कु प्रहारबाट मृत्यु भएको हो । दुल्लू अस्पताल नजिकै भएको उक्त घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा दुल्लू नगरपालिका-१० गमौडीका १९ वर्षीय मुकुन्द शाही र १९ वर्षीय विभूषण शाही रहेका छन्। तीनै जनाबीच आपसी विवाद हुँदा घटना घटेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
चक्कु प्रहारबाट गम्भीर घाइते भएका खनालको दुल्लू अस्पतालमा उपचारका क्रममा निधन भएको हो । हत्यापछि फरार भएका दुवै आरोपीलाई प्रहरीले घटनास्थलबाट करिब १० किलोमिटर टाढा पर्ने चामुण्डाको जङ्गलबाट नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।