निर्वाचनको तयारी तीव्र: आगामी आइतबारसम्म सबै मतपत्र छापिसकिने
भक्तपुर, १ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ कार्य अन्तिम चरणमा पुगेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले तीव्र गतिमा छपाइ गरिरहेको र आगामी आइतबारसम्म सबै मतपत्र तयार भइसक्ने जनाएको छ ।
केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलका अनुसार हाल दैनिक १२ देखि १५ लाखको सङ्ख्यामा मतपत्र छपाइ भइरहेको छ । कुल २ करोड ३ लाख मतपत्र छाप्नुपर्ने लक्ष्य रहेकोमा आज बिहानसम्म १ करोड ७३ लाख मतपत्रको छपाइ सम्पन्न भइसकेको छ ।
“हामीले ६ वटा प्रदेशको मतपत्र छपाइ सकेर अहिले बागमती प्रदेशको काम सुरु गरेका छौँ,” प्रबन्ध निर्देशक पौडेलले भन्नुभयो, “बाँकी ३० लाख मतपत्र आइतबारसम्म छापिसक्ने हाम्रो योजना छ ।” उम्मेदवारको सङ्ख्याअनुसार जिल्लापिच्छे मतपत्रको आकार फरक हुने भएकाले छपाइमा केही समय लागेको केन्द्रले स्पष्ट पारेको छ ।
छपाइ सकिएका मतपत्रहरूलाई सुरक्षित रूपमा जिल्ला-जिल्लामा पुर्याउन नेपाली सेनामार्फत ढुवानी कार्य सुरु गरिएको छ । हालसम्म ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भई ढुवानीको प्रक्रियामा रहेको छ ।
विशेषगरी कर्णाली प्रदेशका सबै जिल्लाहरू (सल्यान, रुकुम पश्चिम, डोल्पा, मुगु, हुम्ला, कालीकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेत) मा मतपत्र ढुवानी भइसकेको छ । यस्तै, सुदूरपश्चिम, लुम्बिनी, गण्डकी र कोशी प्रदेशका अधिकांश जिल्लाको छपाइ पनि सकिएको छ ।
प्रतिनिधिसभातर्फको समानुपातिक प्रणालीका लागि आवश्यक २ करोड ८ लाख ३० हजार मतपत्र भने यसअघि नै छपाइ सकेर जिल्लाहरूमा ढुवानी भइरहेको छ । यसका साथै, निर्वाचन शिक्षाका लागि आवश्यक १० लाख थान नमुना मतपत्र निर्वाचन आयोगले देशभरका विभिन्न स्थानमा पठाइसकेको छ ।
निर्वाचनको मिति नजिकिँदै गर्दा आयोग र जनक शिक्षा सामग्री केन्द्रले जनशक्ति र मेसिनको अधिकतम प्रयोग गरी तयारीलाई अन्तिम रूप दिइरहेका छन् ।