भक्तपुरमा स्वास्थ्य विज्ञान प्रतिष्ठान र सांस्कृतिक विश्वविद्यालय बनाउने महेश बस्नेतको घोषणा

भक्तपुर, १ फागुन । नेकपा एमालेका सचिव एवं भक्तपुर निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महेश बस्नेतले भक्तपुरलाई स्वास्थ्य र शिक्षाको ‘हब’ बनाउने आफ्नो योजना सार्वजनिक गर्नुभएको छ ।

निर्वाचन प्रचारप्रसारका क्रममा मतदाताहरूसँग कुरा गर्दै नेता बस्नेतले अबको आफ्नो कार्यकाल भक्तपुरमै स्वास्थ्य जनशक्ति उत्पादन गर्ने र मौलिक संस्कृतिको जगेर्ना गर्ने शैक्षिक संस्था स्थापनामा केन्द्रित हुने बताउनुभयो ।

पछिल्ला वर्षहरूमा भक्तपुरमा स्वास्थ्य पूर्वाधारमा ठूलो फड्को मारिएको दाबी गर्दै बस्नेतले अब सेवा विस्तारसँगै जनशक्ति उत्पादनमा जोड दिनुपर्ने उल्लेख गर्नुभयो । “भक्तपुरमा धेरै अस्पताल र स्वास्थ्य संस्थाहरू बनेका छन्, अब हामीलाई आफ्नै जनशक्ति चाहिन्छ,” उहाँले भन्नुभयो, “त्यसैले गुणस्तरीय डाक्टर, नर्स र प्राविधिक उत्पादन गर्न ‘भक्तपुर स्वास्थ्य विज्ञान प्रतिष्ठान’ स्थापना गर्ने मेरो मुख्य प्राथमिकता हुनेछ ।”

यस प्रतिष्ठानले भक्तपुरलाई देशभरकै स्वास्थ्य शिक्षाको केन्द्रका रूपमा स्थापित गर्ने उहाँको विश्वास छ ।

शिक्षा र सम्पदाको क्षेत्रमा भक्तपुरको विशिष्ट पहिचान रहेको चर्चा गर्दै बस्नेतले जिल्लाका चारवटै नगरपालिका (सूर्यविनायक, मध्यपुर थिमी, भक्तपुर र चाँगुनारायण) को भावना र मौलिकता समेट्ने गरी ‘भक्तपुर सांस्कृतिक विश्वविद्यालय’ स्थापना गर्ने संकल्प व्यक्त गर्नुभयो ।

“हाम्रो कला, संस्कृति र सम्पदालाई शैक्षिक पाठ्यक्रमसँग जोडेर अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन यो विश्वविद्यालय कोसेढुङ्गा सावित हुनेछ,” उहाँले दाबी गर्नुभयो । भक्तपुर पहिले नै अग्रणी शिक्षित जिल्ला भइसकेकाले अब यसलाई अनुसन्धान र विशिष्टीकृत शिक्षाको क्षेत्रमा लैजानुपर्नेमा उहाँले जोड दिनुभयो ।

विकास र समृद्धिको यात्रालाई अधुरो छाड्न नहुने भन्दै उहाँले मंसिर २१ गते हुने निर्वाचनमा ‘सूर्य’ चिह्नमा मतदान गरी आफूलाई विजयी गराउन अपिल गर्नुभएको छ । आफूले सुरु गरेका विकासका आयोजनाहरूलाई पूर्णता दिन र नयाँ गौरवका योजनाहरू कार्यान्वयन गर्न एमालेको जित आवश्यक रहेको उहाँको तर्क थियो ।