दार्चुलामा वृद्धाको हत्या गरी गरगहना लुट्ने दुई जना पक्राउ: छिमेकीकै योजनामा भएको थियो हत्या
दार्चुला, १ फागुन । दार्चुलाको शैल्यशिखर नगरपालिका–८ देवलमा ७१ वर्षीया लक्ष्मी जोशीको हत्या गरी गरगहना लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मृतककै छिमेकी समेत रहेका ट्याक्टर चालक र उनका सहयोगी रहेका छन् ।
गत सोमबार राति जोशी आफ्नै घरमा मृत फेला परेकी थिइन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक (डीएसपी) गौरब महतका अनुसार प्रारम्भिक अनुसन्धानबाट वृद्धाको हत्या गरी गरगहना लुट्ने उद्देश्यले यो घटना गराइएको खुलेको हो ।
पक्राउ पर्ने अभियुक्तहरूमा १. उमेश साउद (२३ वर्ष) – शैल्यशिखर नगरपालिका–८ (मुख्य योजनाकार तथा ट्याक्टर चालक) २. गोपाल नाथ (२३ वर्ष) – बैतडी (ट्याक्टर सहयोगी) छन् ।
प्रहरीले अभियुक्तहरूको साथबाट लुटपाट गरिएका करिब दुई तोला बराबरका सुनका गरगहना बरामद गरेको छ । डीएसपी महतका अनुसार छिमेकी समेत रहेका साउदले वृद्धा एक्लै भएको मौका छोपी हत्या र लुटपाटको योजना बुनेका थिए ।
पक्राउ परेका दुवै जना यसअघि पनि आपराधिक क्रियाकलापमा संलग्न रहेको पाइएको छ । मुख्य अभियुक्त साउद चोरी मुद्दामा ११ महिना र नाथ ४ महिना जेल सजाय भुक्तान गरेर छुटेका व्यक्ति हुन् । उनीहरू लागूऔषध दुर्व्यसनीमा समेत संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार बयानका क्रममा दुवै जनाले हत्या र लुटपाटको अभियोग स्वीकार गरिसकेका छन् । उनीहरूमाथि थप अनुसन्धान र कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।