धरानमा दुई गाडीबाट ९५५ किलो गाँजा बरामद, दुई चालक पक्राउ
धरान, ५ फागुन । सुनसरीको धरान उपमहानगरपालिका–२० बरडाँडाबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ । सोमबार राति ९ सय ५५ किलोग्राम गाँजासहित ओसारपसारमा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक (डिएसपी) भिषणबाबु राईको कमाण्डमा खटिएको प्रहरी टोलीले धनकुटाबाट धरानको विष्णुपादुकातर्फ आउँदै गरेका दुईवटा पिकअप गाडीलाई रोकेर चेकजाँच गर्दा उक्त परिमाणको गाँजा फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्र खड्काका अनुसार, चेकजाँचका क्रममा बागमती प्रदेश–०१–०२७ च ११४३ नम्बरको पिकअप गाडीबाट ४ सय ९५ किलो गाँजा बरामद गरिएको छ । उक्त गाडीका चालक बाराको कोल्बी नगरपालिका–८ बस्ने सन्दीपकुमार माझीलाई प्रहरीले पक्राउ गरेको छ ।
त्यस्तै, बीएसी ३२३६ नम्बरको अर्को गाडीबाट ४ सय ६० किलो गाँजा बरामद भएको छ । सो गाडीका चालक काठमाडौँको चन्द्रागिरी नगरपालिका–८ बस्ने ३३ वर्षीय नगेन्द्रराज श्रेष्ठ पनि पक्राउ परेका छन् ।
प्रहरीले पक्राउ परेका दुवै चालक, बरामद गरिएको गाँजा र दुवै सवारीसाधनलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अघि बढाइएको जनाएको छ ।