काठमाडौँका आधा उम्मेदवारले अझै खोलेनन् चुनावी खर्चको बैंक खाता, २५० मध्ये १२० जना मात्रै नियमको दायरामा

काठमाडौँ, ५ फागुन । सङ्घीय राजधानी काठमाडौँमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका आधाजसो उम्मेदवारले निर्वाचन आचारसंहिता विपरीत हालसम्म पनि चुनावी खर्च प्रयोजनका लागि बैंक खाता खोलेका छैनन् ।

यही फागुन २१ गते हुने निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारहरूले आर्थिक पारदर्शिताका लागि अनिवार्य मानिने बैंक खाता सञ्चालनमा आलटाल गरेका हुन् ।

काठमाडौँका १० वटा निर्वाचन क्षेत्रमा गरी कुल २५० जना उम्मेदवार चुनावी मैदानमा छन् । तर, जिल्ला निर्वाचन कार्यालय काठमाडौँका निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईका अनुसार हालसम्म १२० जना उम्मेदवारले मात्र निर्वाचनलक्षित बैंक खाता सञ्चालनमा ल्याएको विवरण कार्यालयमा प्राप्त भएको छ । बाँकी १३० जना उम्मेदवारले अझै खाता विवरण बुझाएका छैनन् ।

निर्वाचन आयोगले उम्मेदवारहरूलाई २५ हजार रुपैयाँभन्दा बढीको आर्थिक सहयोग लिँदा वा खर्च गर्दा अनिवार्य रूपमा बैंक तथा वित्तीय संस्थामार्फत गर्न निर्देशन दिएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आइतबार एक विज्ञप्ति जारी गर्दै यस विषयमा पुनः ध्यानाकर्षण गराउनुभएको छ ।

प्रवक्ता भट्टराईले भन्नुभयो, “निर्वाचन प्रयोजनका लागि २५ हजार रुपैयाँभन्दा बढी चन्दा लिँदा वा खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खातामार्फत कारोबार गर्नुपर्ने व्यवस्था छ । आयोगले आदेश दिएको खण्डमा उम्मेदवारले खर्चको बिल भरपाई तथा बैंक स्टेटमेन्ट पेस गर्नुपर्ने हुन्छ ।”

आयोगले भूगोल र निर्वाचन क्षेत्रको प्रकृति हेरेर उम्मेदवारले २५ लाखदेखि ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने सीमा तोकेको छ । राजधानीकै उम्मेदवारहरूले आचारसंहिताको यो महत्त्वपूर्ण बुँदालाई बेवास्ता गर्नुलाई गम्भीर रूपमा हेरिएको छ ।