निर्वाचन आयोगको कडा निर्देशन: एआई (AI) को दुरुपयोग र मत सर्वेक्षणमा रोक, भ्रम फैलाए कारबाही हुने

काठमाडौँ, ६ फागुन । निर्वाचन आयोगले प्रविधिको बढ्दो दुरुपयोगले निर्वाचनको स्वच्छता र निष्पक्षतामा गम्भीर असर पुर्‍याउन सक्ने भन्दै सरोकारवालाहरूलाई उच्च सतर्कता अपनाउन ध्यानाकर्षण गराएको छ। विशेष गरी सामाजिक सञ्जालमा फैलाइने गलत सूचना र आधुनिक प्रविधिको नकारात्मक प्रयोगप्रति आयोगले कडा नीति लिएको हो।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मंगलबार एक विज्ञप्ति जारी गर्दै ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) को प्रयोग गरी सिर्जना गरिएका भ्रामक र तथ्यहीन सामग्री सम्प्रेषण नगर्न आग्रह गर्नुभएको छ।

आयोगले एआईको प्रयोग गरी उम्मेदवार वा राजनीतिक दलको छवि बिगार्ने, ‘डिप फेक’ भिडियो वा फोटो बनाउने र दिग्भ्रमित पार्ने सामग्री पोस्ट नगर्न सचेत गराएको छ। प्रविधिले सूचना प्रवाहमा सहजता ल्याए पनि यसको गलत प्रयोगले निर्वाचनको लोकतान्त्रिक मूल्यलाई धराशायी बनाउन सक्ने आयोगको निष्कर्ष छ।

आयोगले पछिल्लो समय केही सञ्चार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताले मतदाताको कुराकानीलाई आधार बनाएर हार–जीतको भविष्यवाणी वा मत सर्वेक्षण सार्वजनिक गर्ने गरेकोप्रति गम्भीर आपत्ति जनाएको छ।

“मतदान हुनुअघि नै नतिजाको अनुमान गर्ने वा सर्वेक्षण गरी नतिजा सार्वजनिक गर्ने कार्यले मतदाताको स्वतन्त्र निर्णय लिने अधिकारलाई प्रभावित पार्छ,” कार्यवाहक प्रमुख आयुक्त भण्डारीले भन्नुभयो, “यसले उम्मेदवारहरूलाई हतोत्साही बनाउने र स्वच्छ प्रतिस्पर्धाको वातावरण बिगार्ने भएकाले यस्ता कार्य तत्काल रोक्न अनुरोध गर्दछौँ।”

‘निर्वाचन आचारसंहिता, २०८२’ ले पनि मतदान हुनुअघि कुनै पनि प्रकारको मत सर्वेक्षण गर्न वा नतिजा घोषणा गर्न निषेध गरेको छ। आयोगले यस व्यवस्थाको पूर्ण पालना गर्न सञ्चार माध्यम, राजनीतिक दल, उम्मेदवार र आम नागरिकलाई अपिल गरेको छ।

आयोगले सामाजिक सञ्जालको दुरुपयोग रोक्न र सूचनाको सदाचार कायम राख्न आफ्नो विशेष संयन्त्र पूर्ण रूपमा क्रियाशील रहेको समेत जनाएको छ। आचारसंहिता उल्लंघन गरी भ्रम फैलाएको पाइएमा प्रचलित कानुन र निर्वाचन ऐन बमोजिम कडा कारबाही गरिने चेतावनी आयोगले दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *