अस्थायी मतदाता नामावली कार्यविधि २०८२ जारी: कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीले पनि मतदान गर्न पाउने
काठमाडौँ, ७ फागुन । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्न पाउने गरी ‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि, २०८२’ जारी गरेको छ । मतदान प्रक्रियालाई थप व्यवस्थित र समावेशी बनाउन आयोगले नयाँ कार्यविधि कार्यान्वयनमा ल्याएको हो ।
मतदाता नामावलीसम्बन्धी ऐन, २०७३ को दफा ४४ ले दिएको अधिकार प्रयोग गरी आयोगले यो कार्यविधि स्वीकृत गरेको हो ।
कार्यविधिअनुसार देहायका क्षेत्रमा कार्यरत वा रहेका व्यक्तिहरूको नाम अस्थायी मतदाता नामावलीमा समावेश गरिनेछ, जसले समानुपातिक निर्वाचन प्रणालीतर्फ मात्र मतदान गर्न पाउनेछन्:
नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका कर्मचारीहरू ।
नेपाल सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका संस्थामा कार्यरत कर्मचारीहरू ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मीहरू ।
कारागारमा रहेका थुनुवा र कैदीबन्दीहरू ।
निर्वाचन कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मीहरू ।
संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीहरू ।
आयोगले अस्थायी मतदाता नामावली सङ्कलनका लागि छिट्टै कार्यतालिकासहितको सूचना सार्वजनिक गर्ने जनाएको छ । यस्तो सूचना राष्ट्रियस्तरका सञ्चारमाध्यमबाट समेत प्रकाशन र प्रसारण गरिनेछ ।
कार्यविधिअनुसार यदि कुनै योग्य व्यक्तिको नाम छुटेको छ वा विवरणमा कुनै त्रुटि देखिएमा सम्बन्धित व्यक्तिले आवश्यक प्रमाणसहित ‘प्रमुख नाम दर्ता अधिकारी’ समक्ष निवेदन दिनुपर्नेछ । प्राप्त निवेदनमाथि जाँचबुझ गरी त्रुटि सच्याउने वा नाम समावेश गर्ने कार्य गरिने आयोगले स्पष्ट पारेको छ । यो व्यवस्थाले आफ्नो स्थायी ठेगानाभन्दा बाहिर खटिएका राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी र राज्यको नियन्त्रणमा रहेका कैदीबन्दीहरूको मताधिकार सुनिश्चित हुने विश्वास लिइएको छ ।