तनावग्रस्त रौतहटको गौरमा अनिश्चितकालीन कर्फ्यु आदेश, सेनाले लियो कमान्ड
रौतहट, ९ फागुन । दुई सम्प्रदायबीचको झडपले रौतहटको सदरमुकाम गौर तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ।
स्थिति नियन्त्रण बाहिर जान थालेपछि प्रशासनले सोमबार दिउँसोदेखि अर्को आदेश नभएसम्मका लागि सदरमुकाम गौर र आसपासका क्षेत्रमा कर्फ्यु (निषेधाज्ञा) लगाएको हो।
सडकमा प्रदर्शन र झडप उग्र बनेपछि सुरक्षा व्यवस्था मजबुत पार्न नेपाली सेना समेत परिचालन गरिएको छ।
कर्फ्यु लगाइएका क्षेत्रहरू (सिमाना):
जिल्ला सुरक्षा समितिको बैठकले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम देहायका क्षेत्रमा कर्फ्यु लागू गरेको छ:
पूर्व: मुडबलवा गेट
पश्चिम: लालबकैया नदीको बाँध
उत्तर: चम नहर
दक्षिण: गौर भन्सार कार्यालय
यो अवधिभर तोकिएको क्षेत्रभित्र हिँडडुल गर्न, भेला हुन, सभा–जुलुस निकाल्न र कुनै पनि प्रकारको प्रदर्शन गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ। आदेश उल्लंघन गर्नेलाई सुरक्षाकर्मीले तत्काल नियन्त्रणमा लिई कानुनी कारबाही गर्ने चेतावनी प्रशासनले दिएको छ।
तनाव बढेपछि रौतहट उद्योग वाणिज्य सङ्घको समन्वयमा गौर क्षेत्रका सम्पूर्ण व्यापारिक प्रतिष्ठान र पसलहरू बन्द गरिएका छन्। गौरबाट चल्ने छोटो तथा लामो दूरीका सवारी साधनहरू पूर्ण रूपमा ठप्प भएका छन्।
यातायात बन्द हुँदा सबैभन्दा ठूलो मारमा लोकसेवा आयोगको परीक्षा दिन जनकपुर जानुपर्ने विद्यार्थीहरू परेका छन्। परीक्षाको मिति नजिकिँदै गर्दा सवारी साधन नचल्दा र कर्फ्युका कारण घरबाहिर निस्कन नपाउँदा सयौँ परीक्षार्थीहरू अन्योल र समस्यामा परेका छन्।
नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्थिति नियन्त्रणमा लिन नसकेपछि जिल्ला सुरक्षा समितिले सेना परिचालन गर्ने निर्णय गरेको हो। अहिले गौरका मुख्य चोक र संवेदनशील क्षेत्रहरूमा नेपाली सेनाले गस्ती सुरु गरिसकेको छ।
प्रमुख जिल्ला अधिकारीले जिल्लावासीलाई शान्ति र संयमता अपनाउन तथा साम्प्रदायिक सद्भाव नबिगाउन अपिल गर्नुभएको छ। झडपमा के–कति क्षति भयो भन्ने विस्तृत विवरण आउन बाँकी रहेको र सुरक्षाकर्मीहरूले स्थितिलाई सामान्य बनाउने प्रयास गरिरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।