काठमाडौँको तारकेश्वर मनमैजुमा घरभित्र पसेको चितुवाको आक्रमणबाट दुई जना घाइते, चितुवालाई कोठामै थुनियो

काठमाडौँ, १० फागुन । काठमाडौँको तारकेश्वर नगरपालिका–९ मनमैजुमा एक घरमा बिहीबार दिउँसो चितुवा पसेर आक्रमण गर्दा दुई जना घाइते भएका छन् । स्थानीयको घरमा पसेको उक्त चितुवालाई अहिले सुरक्षित रूपमा घरभित्रै थुनेर राखिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार, स्थानीय अनोजमणि अधिकारीको घरमा चितुवा पसेको थियो । चितुवालाई धपाउने क्रममा आक्रमणमा परी स्थानीय दुलाल महर्जन र मायानाथ वाग्ले घाइते भएका हुन् ।

घाइतेमध्ये महर्जनको टाउको र बायाँ हातमा चोट लागेको छ भने वाग्लेको बायाँ हातमा चोट लागेको छ । घाइते महर्जनलाई उपचारका लागि शुभम अस्पताल र वाग्लेलाई छाउनीस्थित सैनिक (आर्मी) अस्पताल पठाइएको एसपी भट्टराईले जानकारी दिए । दुवै जनाको अवस्था सामान्य रहेको छ ।

आक्रमणपछि स्थानीय र प्रहरीको सक्रियतामा उक्त चितुवालाई घरभित्रै थुन्न सफल भएको छ । “अहिले चितुवालाई एउटा कोठामा थुनेर राखिएको छ, हामीले उद्धारका लागि वन विभागको टोलीलाई बोलाइसकेका छौँ,” एसपी भट्टराईले भने ।

वन विभागको प्राविधिक टोली घटनास्थलमा पुगेपछि चितुवालाई लठ्याएर (डार्ट गरेर) सुरक्षित रूपमा नियन्त्रणमा लिई जङ्गलमा छाडिने प्रहरीले जनाएको छ । बस्तीमा चितुवा पसेपछि स्थानीय बासिन्दा भने त्रसित बनेका छन् ।