चुनावमा ३ दिन बिदा दिन आयोगको सिफारिस, स्वीकृत भए लगातार एक साता सार्वजनिक बिदा हुने
काठमाडौँ, १० फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले लगातार तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ ।
आयोगका प्रवक्ता तथा सहसचिव नारायणप्रसाद भट्टराईका अनुसार, मतदानको अघिल्लो दिन (फागुन २०), मतदानको दिन (फागुन २१) र मतदानको भोलिपल्ट (फागुन २२) गते सार्वजनिक बिदा दिन आइतबार सरकारलाई पत्राचार गरिएको हो । यस सिफारिसमाथि अन्तिम निर्णय भने मन्त्रिपरिषद् बैठकले गर्नेछ ।
आयोगको सिफारिस मन्त्रिपरिषद्बाट स्वीकृत भएमा निर्वाचनको समयमा सरकारी कार्यालयहरू लगातार एक साता (७ दिन) बन्द हुनेछन् । चाडपर्व, चुनाव र दिवसहरू एकैपटक पर्दा लामो बिदाको संयोग जुरेको हो ।
क्यालेन्डर अनुसार बिदाको तालमेल यस्तो छः
फागुन १८ गते: पहाडी जिल्लाहरूमा फागुपूर्णिमा (होली) को बिदा ।
फागुन १९ गते: तराई–मधेसका जिल्लाहरूमा होलीको बिदा ।
फागुन २०, २१ र २२ गते: सरकारले स्वीकृत गरेमा निर्वाचनको बिदा ।
फागुन २३ गते: शनिबार (नियमित बिदा) ।
फागुन २४ गते: अन्तर्राष्ट्रिय महिला दिवसको सार्वजनिक बिदा ।
यसरी होलीदेखि सुरु भएको बिदा महिला दिवससम्म पुग्दा समग्रमा देशभर एक साता लामो सार्वजनिक बिदा हुने अवस्था सिर्जना भएको छ ।