धादिङमा यात्रुवाहक बस दुर्घटना: १७ जनाको मृत्यु, २४ घाइते, त्रिशूली नदीमा खस्यो बस

काठमाडौँ, ११ फागुन । पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ स्थित भैँसीगौडामा सोमबार बिहान करिब १:३० बजे बस पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा खसेको हो ।

सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टका अनुसार दुर्घटनामा परी ज्यान गुमाएका १७ जनाको शव नदीबाट निकालिएको छ । बसमा सवार अन्य २४ जनालाई जीवितै उद्धार गरी उपचारका लागि विभिन्न अस्पताल पठाइएको छ ।

दुर्घटनाको खबर पाउनासाथ तीनवटै सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी) को टोली उद्धारमा खटिएको छ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन वेश आदमघाटबाट सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनिल गिरीको कमान्डमा टोली खटिएको छ भने कुरिनटारस्थित विपद् व्यवस्थापन तालिम शिक्षालयबाट गोताखोरसहितको टोलीले नदीमा बेपत्ता हुन सक्नेहरूको खोजी गरिरहेको छ ।

प्रहरीका अनुसार दुर्घटनामा ज्यान गुमाउने र घाइते हुनेहरूको पहिचान अझै खुल्न सकेको छैन । तीव्र गतिका कारण वा चालक निदाएका कारण बस दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको भए पनि दुर्घटनाको वास्तविक कारण अझै प्रस्ट भइसकेको छैन ।

लुम्बिनी प्रदेशकाे ग १ ख १४२१ नम्बरको बस सडकबाट सिधै नदीको गहिरो भागमा खसेकाले क्षति बढी भएको उद्धारमा खटिएका सुरक्षाकर्मीहरूले बताएका छन् । घटनास्थलमा अहिले पनि खोजी र उद्धार कार्य जारी छ ।