धादिङ चरौदी बस दुर्घटना अपडेट: १७ जनाको मृत्यु, ज्यान गुमाउनेमा दुई विदेशी नागरिक पनि

धादिङ, ११ फागुन । धादिङ पृथ्वी राजमार्गको बेनिघाट रोराङ गाउँपालिका–७ चरौदी नजिकै भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ ।

पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुवाहक बस सोमबार बिहान त्रिशूली नदीको किनारमा खसेको हो ।

दुर्घटनामा परी ११ जना पुरुष र ६ जना महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । मृतक १७ जनामध्ये दुई जना विदेशी नागरिक (एक महिला र एक पुरुष) रहेको प्रहरीले पुष्टि गरेको छ । उनीहरूको राष्ट्रियता र विस्तृत पहिचान खुल्न बाँकी रहेको छ ।

बसमा चालक र सहचालकसहित कुल ४४ जना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
घटनास्थलबाट २६ जना घाइतेको सफल उद्धार गरिएको छ । सुरक्षा निकाय र स्थानीय बासिन्दाको संयुक्त प्रयासमा घाइतेहरूलाई उद्धार गरी उपचारका लागि पठाइएको हो । सामान्य घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ भने गम्भीर घाइते अधिकांशलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।

दुर्घटना लगत्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली घटनास्थलमा पुगेको थियो । बस सडकबाट निकै तल नदी किनारमा खसेकाले उद्धारमा केही कठिनाइ भएको थियो । प्रहरीले अहिले दुर्घटनाग्रस्त बसलाई क्रेनको सहायताले बाहिर निकाल्ने प्रयास गरिरहेको छ ।
प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरेको छ । तीव्र गतिका कारण मोडमा बस अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।