जनप्रतिनिधिलाई आफ्नै क्षेत्रमा चुनावी प्रचार गर्न रोक,यस्ताे छ आचारसंहिता, उल्लंघन गरे कारबाही हुने
काठमाडौँ, ११ फागुन । निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिहरूलाई आफ्नो कार्यक्षेत्र (स्थानीय तह) भित्र निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन कडा निर्देशन दिएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन आयोगले यस्तो आग्रह गरेको हो ।
आयोगले ‘निर्वाचन आचारसंहिता, २०८२’ लागू भइसकेको स्मरण गराउँदै यसको पालना गर्नु सबै सरोकारवालाको कानुनी र नैतिक दायित्व भएको स्पष्ट पारेको छ ।
आयोगका अनुसार विभिन्न स्थानीय तहका पदाधिकारीहरू आचारसंहिता विपरीत राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारमा सक्रिय भएको भनी उजुरी तथा गुनासाहरू प्राप्त भएका छन् । यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आयोगले आचारसंहिताको लक्ष्मणरेखा उल्लंघन नगर्न सचेत गराएको हो ।
निर्वाचन आचारसंहिताको व्यवस्थाअनुसार जनप्रतिनिधिहरूका लागि निम्न नियमहरू तोकिएका छन्:
१. आफ्नो क्षेत्रमा निषेध: स्थानीय कार्यपालिकाका पदाधिकारीहरू आफू बहाल रहेको स्थानीय तहभित्र कुनै पनि दल वा उम्मेदवारको प्रचारप्रसारमा सहभागी हुन पाउने छैनन् ।
२. अन्य क्षेत्रमा अनुमति: जनप्रतिनिधिहरू आफू बहाल रहेको बाहेक अन्य स्थानीय तहमा भने सम्बन्धित दलको प्रचारप्रसारमा संलग्न हुन सक्नेछन् ।
३. सरकारी स्रोतको प्रयोगमा रोक: अन्य क्षेत्रमा प्रचारमा जाँदा सरकारी गाडी, इन्धन, कर्मचारी वा अन्य कुनै पनि सरकारी स्रोत र साधनको प्रयोग गर्न पूर्ण रूपमा निषेध गरिएको छ ।
आयोगले सबै निर्वाचन क्षेत्रमा आचारसंहिता पालनाको सूक्ष्म अनुगमन भइरहेको जनाएको छ । यदि कुनै जनप्रतिनिधिले आचारसंहिता प्रतिकूल हुने गरी गतिविधि गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी समेत दिइएको छ । निर्वाचनको स्वच्छता र गरिमा जोगाउन आयोगले सबै तहका जनप्रतिनिधिहरूलाई जिम्मेवार बन्न अपिल गरेको छ ।