कार्की आयोगः १० हजार भिडिओ फुटेजबाट ५ सयभन्दा बढी दोषी पहिचान, चुनाव प्रभावित हुने भन्दै प्रतिवेदन बुझ्न सरकारको आनाकानी
काठमाडौँ, ११ फागुन । भदौ २३ र २४ गते भएका हिंसात्मक घटना, आगजनी र तोडफोडको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन लेखनलाई अन्तिम चरणमा पुर्याएको छ ।
आयोगले १० हजारभन्दा बढी भिडिओ क्लिपको विश्लेषण गरी सयौँ दोषीको पहिचान गरे पनि सरकार भने चुनावमा असर पर्ने भन्दै तत्काल प्रतिवेदन बुझ्नबाट पन्छिएको छ ।
आगामी फागुन २१ गते तय भएको निर्वाचनअघि आयोगको प्रतिवेदन नआउने लगभग निश्चित भएको छ । चुनावअघि प्रतिवेदन आउँदा सुरक्षा चुनौती बढ्ने र कतिपय उम्मेदवार नै कारबाहीको सिफारिसमा पर्ने अवस्था देखिएपछि सरकारले चुनाव सहज रूपमा सम्पन्न गर्ने रणनीतिस्वरूप आयोगको म्याद थपेको हो । सरकारले थपेको अन्तिम म्यादभित्रै प्रतिवेदन बुझाउने आयोगको तयारी छ ।
आयोग स्रोतका अनुसार, भदौ २४ गते भएको विध्वंस, आगजनी, लुटपाट र तोडफोडमा संलग्न व्यक्तिहरूलाई भिडिओ फुटेज र तस्बिरका आधारमा किटान गरेरै कारबाहीको सिफारिस गरिँदैछ । सुरक्षा निकाय, राजनीतिक दल, सर्वसाधारण तथा निजी घर र उद्योगका सीसीटीभीबाट सङ्कलन गरिएका करिब १० हजार भिडिओ क्लिपका आधारमा ५ सयभन्दा बढी व्यक्ति पहिचान भएका छन् ।
कारबाहीको सिफारिसमा पर्नेमा हाल प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका करिब ९ जना व्यक्तिहरूसमेत रहेको आयोग स्रोतको दाबी छ । तीमध्ये अधिकांश राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेकाहरू रहेको स्रोतले बताए पनि आयोगले उनीहरूको नाम भने हाललाई गोप्य राखेको छ ।
यता, भदौ २३ गतेको घटनामा भने आयोगले प्रत्यक्षरूपमा कुनै व्यक्ति विशेषलाई दोषी किटान गर्नेबारे निष्कर्ष निकालेको छैन । उक्त दिनको घटनामा फिल्डमा खटिएका सुरक्षाकर्मी, उनीहरूको ‘चेन अफ कमाण्ड’ र राजनीतिक नेतृत्वको भूमिकाको विश्लेषण गर्दै भविष्यमा यस्ता घटना दोहोरिन नदिन अपनाउनुपर्ने नीतिगत सुझाव प्रतिवेदनमा समेटिनेछ ।
आयोगका प्रवक्ता विज्ञानराज शर्माले घटना विवरणको सङ्कलन, विश्लेषण र अनुसन्धान निष्कर्षका आधारमा प्रतिवेदन लेखन अन्तिम चरणमा पुगेको जानकारी दिए । आयोगले सरकारलाई प्रतिवेदन बुझाइसकेपछि त्यसको अध्ययन गरी सार्वजनिक गर्ने वा नगर्ने अन्तिम अधिकार भने मन्त्रिपरिषद्मै निहित हुनेछ ।