राज्य संयन्त्रको मात्र भर परेर पुगेन, देश जोगाउन ‘नेसनल भोलेन्टियर फोर्स’ बनायौँ : अध्यक्ष ओली
झापा, ११ फागुन । नेकपा (एमाले) का अध्यक्ष तथा झापा निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार केपी शर्मा ओलीले एमालेको पहिलो प्राथमिकता देश भएको बताउनुभएकाे छ ।
सोमबार झापामा आयोजित ‘कोशी प्रदेश कमाण्ड घोषणा कार्यक्रम’लाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी शान्तिपूर्ण राजनीति र स्थायित्वको पक्षमा रहेको स्पष्ट पार्नुभयाे । “एमाले भन्छ— अरू सबै कुरा पछि, देश पहिले,” उहाँले भन्नुभयाे ।
अध्यक्ष ओलीले पार्टीले गठन गरेको ‘नेसनल भोलेन्टियर फोर्स’ चुनावका लागि मात्र नभई दीर्घकालीन रूपमा राष्ट्रको सुरक्षाका लागि भएको प्रष्ट पार्नुभयाे । राज्य संयन्त्रको मात्र भर परेर देश सुरक्षित नहुने विगतको अनुभवबाट सिकेर यो फोर्स निर्माण गरिएको उहाँको भनाइ छ ।
विगतमा आन्दोलनका नाममा देशमा अराजकता मच्चाइएको र प्रहरीका हतियारसमेत लुटिएको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष ओलीले अब त्यस्तो अवस्था दोहोरिन नदिने दाबी गर्नुभयाे । “अब नेसनल युथ (भोलेन्टियर) फोर्स बनेको छ, कसैले देश जलाउन सक्दैन, प्रहरीका हतियार खोस्न सक्दैन,” उहाँले भन्नुभयाे ।
नेसनल भोलेन्टियर फोर्स राष्ट्रको पक्षमा समर्पित अनुशासित संरचना भएको बताउँदै उहाँले यसले शान्ति–सुरक्षा कायम राख्न प्रहरी प्रशासनलाई सहयोग गर्ने स्पष्ट पार्नुभयाे । अब कसैले पनि प्रहरीमाथि आक्रमण गर्न नसक्ने गरी यस फोर्सले सहकार्य गर्ने अध्यक्ष ओलीको भनाइ थियो ।
आसन्न निर्वाचन शान्तिपूर्ण हुनुपर्ने र मतदाताले स्वतन्त्र रूपमा मतदान गर्न पाउनुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले बुथ कब्जा गर्ने दिन सकिएको चेतावनी दिनुभयाे । उहाँले भन्नुभयाे, “कसैले बुथ कब्जा गर्ने कल्पना नगरे हुन्छ, यहाँ नेसनल भोलेन्टियर फोर्स छ । यो जनताको शक्ति हो र यसले पूर्ण अनुशासनमा बसेर काम गर्छ ।”