गैँडाकोटमा २४ वर्षीया युवती मृतावस्थामा फेला : हत्याको आशङ्का
काठमाडौँ, फागनु १३ । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैँडाकोट नगरपालिका-२, शान्तिनगरमा एक युवती आफ्नै कोठामा विभत्स अवस्थामा मृत फेला परेकी छन् । गुल्मीको मुसिकोट गाउँपालिका-९ स्थायी घर भई गैँडाकोटमा डेरा गरी बस्ने २४ वर्षीया बबिता सापकोटा सोमबार साँझ मृत फेला परेकी हुन् । जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक (एसपी) युवराज खड्काका अनुसार सापकोटाको शरीरमा धारिलो हतियारको चोट देखिएकाले घटना हत्या हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
लामो समयसम्म युवतीसँग सम्पर्क हुन नसकेपछि उनका दाजुले घरबेटीलाई खबर गरेका थिए । स्थानीय जनप्रतिनिधि, आफन्त र घरबेटीको रोहवरमा बाहिरबाट लगाइएको ताल्चा खोलेर हेर्दा सापकोटा ओछ्यानमा सिरकले छोपिएको अवस्थामा मृत भेटिएकी थिइन् । मृतकको टाउको, घाँटी र दाहिने हातको नाडीमा धारिलो हतियार प्रयोग भएको चोट र अनुहारमा निलडाम भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरी उपरीक्षक खड्काले भन्नुभयो, “घटनाको प्रकृति हेर्दा शङ्कास्पद देखिएकाले प्रदेशस्तरीय अनुसन्धान टोली र तालिमप्राप्त कुकुरसहितको विशेष टोली परिचालन गरी सुक्ष्म अनुसन्धान सुरु गरिएको छ ।”
गत फागुन १० गते गुल्मीबाट माइती फर्किएकी सापकोटा त्यसपछि परिवारको सम्पर्कमा थिइनन् । तीन वर्षअघि विवाह भएकी उनको एक वर्षअघि सम्बन्धविच्छेद भएको र हाल उनी गैँडाकोटमा एक्लै बस्दै आएको खुलेको छ । घटनाको विस्तृत विवरण र सत्यतथ्य अनुसन्धानपछि सार्वजनिक गरिने प्रहरीले जानकारी दिएको छ ।