हुम्लाका १५ मतदान केन्द्रमा ३ सयभन्दा कम मतदाता: बानादेवमा सबैभन्दा कम ५४ जना, हिउँले गर्दा पहुँचमा सकस

हुम्ला, १३ फागुन । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्लामा भौगोलिक विकटता र न्यून मतदाता सङ्ख्या भएका मतदान केन्द्रहरू मुख्य चर्चाको विषय बनेका छन् । जिल्लामा कायम गरिएका कुल ६४ वटा मतदान केन्द्रमध्ये १५ वटा केन्द्रमा मतदाताको सङ्ख्या ३०० भन्दा कम रहेको छ ।

जिल्ला निर्वाचन अधिकारी भीमबहादुर रोकायाका अनुसार जिल्लाभर कुल ३४ हजार ३७२ मतदाता रहेका छन् । जिल्लाकै सबैभन्दा कम मतदाता भएको केन्द्र ताँजाकोट गाउँपालिका–३ स्थित बानादेव आधारभूत विद्यालय हो । यहाँ जम्मा ५४ जना मतदाता मात्र छन् । यो केन्द्र गाउँपालिकाको केन्द्रबाट पैदल एक दिनको दूरीमा छ र अहिलेसम्म यहाँ सडक सञ्जाल पुग्न सकेको छैन ।

जिल्लाको उत्तरी क्षेत्र नाम्खा गाउँपालिकाका ८ वटा मतदान केन्द्रमा पनि मतदाता सङ्ख्या न्यून छ । जसमा हिमशिखर प्रावि (१३२), भृकुटी प्रावि (२४७) र सुनखानी प्रावि (२९३) रहेका छन् ।

मुख्य निर्वाचन अधिकृत नीलकण्ठ बरालका अनुसार यारी र न्यालु लेकमा जमेको बाक्लो हिउँका कारण कतिपय केन्द्रमा पुग्नै सकस छ । “हामीले स्काभेटर लगाएर हिउँ पन्छाउने प्रयास त गरेका छौँ, तर निरन्तरको हिउँका कारण यो कार्य निकै चुनौतीपूर्ण र लगभग असम्भव जस्तै देखिएको छ,” उहाँले भन्नुभयो । नाम्खाका कतिपय गाउँका मतदाताहरू अहिले चिसोका कारण जिल्ला बाहिर वा सदरमुकाममा रहेका छन् ।

अन्य न्यून मतदाता भएका केन्द्रहरू:
सर्केगाड गाउँपालिका: तुम्च (२४०), कल्लास (२१६) र फुचा (२८८) चङ्खेली गाउँपालिका: नेप्का (२४२), मेखाला (१४३) र पिपलाङ (२१२) । (नेप्का पुग्न पनि गाउँपालिका केन्द्रबाट पैदल एक दिन लाग्छ ।)

न्यून मतदाता भएका केन्द्रहरूका बीच खार्पुनाथ गाउँपालिकाको मालिका माध्यमिक विद्यालय, लालिमा भने जिल्लाकै सबैभन्दा धेरै १,०६३ जना मतदाता रहेका छन् । यस्तै, अदानचुलीको मष्टादेव आधारभूत विद्यालयमा ९७७ र रोडीकोटको कोट माविमा ९३६ मतदाता छन् ।

भौगोलिक कठिनाइ, बाक्लो हिमपात र सडकको पहुँच नभएका कारण हुम्लामा निर्वाचन सामग्री पुर्‍याउन र मतदान सम्पन्न गराउन सुरक्षा निकाय र निर्वाचन कार्यालयले विशेष तयारी गरिरहेका छन् ।