पर्यटकको ‘फेक रेस्क्यू’ गरी बिमा रकम ठग्ने थप दुई जना सीआईबीद्वारा पक्राउ

काठमाडौँ, १३ फागुन । उच्च हिमाली क्षेत्रमा पदयात्रामा जाने विदेशी पर्यटकको ‘फेक रेस्क्यू’ (फर्जी उद्धार) गरी बिमा रकम ठगी गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले थप दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा वायुसेवा सञ्चालक सङ्घका पूर्वउपाध्यक्ष ५६ वर्षीय राजेन्द्रबहादुर सिंह र ठमेलस्थित रोयल होलिडेज एड्भेन्चर एन्ड ट्राभल कम्पनीका प्रतिनिधि २८ वर्षीय सन्दीप तिवारी रहेका छन्।

सीआईबीका अनुसार काठमाडौँ महानगरपालिका–३१ निवासी सिंहलाई आज पक्राउ गरिएको हो भने धादिङको ज्वालामुखी गाउँपालिका–२ का तिवारी मङ्गलबार नै पक्राउ परेका थिए।

अभियुक्तहरूले उच्च हिमाली क्षेत्रमा ट्रेकिङमा गएका विदेशी पर्यटकलाई स्वास्थ्य समस्या परेको बहाना बनाइ हेलिकोप्टरमार्फत फर्जी उद्धार गरेको देखाएर विदेशी बिमा कम्पनीहरूबाट मोटो रकम दाबी गरी गैरकानुनी आर्थिक लाभ लिने गरेको सीआईबीको अनुसन्धानबाट खुलेको छ।

यस सङ्गठित ठगी गिरोहमा संलग्न भएको आरोपमा सीआईबीले हालसम्म ९ जनालाई पक्राउ गरिसकेको छ। ब्युरोका प्रवक्ता शिवकुमार श्रेष्ठले दिएको जानकारीअनुसार पक्राउ पर्नेहरूमा ट्रेकिङ कम्पनी र रेस्क्यु कम्पनीका सञ्चालक, अस्पतालका प्रतिनिधि, विदेशी बिमा कम्पनीका नेपालस्थित कर्मचारी तथा हेलिकोप्टर कम्पनीका सेयरधनीसमेत रहेका छन्। यस प्रकरणमा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *