विदेशी मुद्रासहित स्वीडिस नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ

काठमाडौँ,  फागुन १३ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले ठुलो परिमाणको अवैध विदेशी मुद्रासहित एक स्वीडिस नागरिकलाई पक्राउ गरेको छ । सिचुआन एयरलाइन्सको उडानमार्फत काठमाडौँबाट चीनतर्फ प्रस्थान गर्न लागेकी ५१ वर्षीया स्वीडिस नागरिक कुन्चोक खान्ड्रोलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

विमानस्थल सुरक्षा कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) ढुन्डीराज नेउपानेका अनुसार, अन्तर्राष्ट्रिय प्रस्थान कक्षमा जाँच गर्ने क्रममा राहदानी नम्बर एए ३८४६४९१ बाहक खान्ड्रोको साथबाट विभिन्न देशका मुद्रा बरामद गरिएको हो । उनले आफ्नो खैरो रङको साइड ब्यागभित्र लुकाइछिपाइ ती मुद्राहरू लैजान लागेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

प्रहरीले निजको साथबाट १० हजार ५०० अमेरिकी डलर, २६ हजार ७०० युरो, ७ हजार ४०० चिनियाँ युआन र ४३ हजार स्वीडिस क्रोनर बरामद गरेको छ ।

पक्राउ परेकी खान्ड्रोलाई थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीका लागि ललितपुरको हरिहरभवनस्थित राजस्व अनुसन्धान विभागमा पठाइएको डीएसपी नेउपानेले जानकारी दिनुभयो । नेपालको कानुन अनुसार अनुमति विना तोकिएको सीमाभन्दा बढी विदेशी मुद्रा ओसारपसार गर्नु दण्डनीय मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *