बागलुङका मतदाता भन्छन् : ‘जसले बाँदर नियन्त्रण गर्ने स्पष्ट खाका ल्याउँछ, उसैलाई भोट’

बागलुङ, १४ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सरगर्मी बढेसँगै उम्मेदवारहरू मत माग्न गाउँ–गाउँ पुग्न थालेका छन्। तर, बागलुङको जैमिनी क्षेत्रका मतदाताले भने यसपटक उम्मेदवारहरूका अगाडि एउटा साझा र पेचिलो सर्त राखेका छन्– बाँदर नियन्त्रणको ग्यारेन्टी।

विगतका निर्वाचनमा विकास र पूर्वाधारका माग राख्ने यहाँका किसानहरू अहिले बाँदर आतङ्कका कारण विस्थापित हुनुपर्ने अवस्था आएपछि आक्रोशित बनेका हुन्। मतदाताले जसले बाँदर नियन्त्रणको ठोस नीति र योजना ल्याउँछ, उसैलाई मात्र आफ्नो मत दिने अडान लिएका छन्।

जैमिनी नगरपालिका–५ की कुमारी थापाका अनुसार पहिले विकासको अभावमा मानिसहरू सहर झर्थे, तर अहिले सडक र बिजुली पुगे पनि बाँदरका कारण गाउँ बस्न नसकिने अवस्था छ। “बसाइँसराइका कारण गाउँ रित्तो हुँदै गएपछि बाँदरहरू झन् साहसी भएर घरभित्रै बस्न थालेका छन्,” थापाले भन्नुभयो, “बारीको बाली त बाँकी राखेनन् नै, घरभित्रकै सरसामान समेत सुरक्षित छैन। जसले यो समस्या समाधान गर्छ, उसैलाई हाम्रो भोट जान्छ।”

स्थानीय प्रतीमा पौडेलले बाँदरले खेतीपाती मात्र नभई मानिसमाथि नै आक्रमण गर्न थालेको दुखेसो पोख्नुभयो। वनमा बस्ने बाँदर अहिले मानव बस्तीमै डेरा जमाएर बस्न थालेपछि बालबालिका र वृद्धवृद्धा एक्लै हिँडडुल गर्न डराउनुपर्ने अवस्था छ।

“खेतीपातीको समयमा घर कुरुवा राखेर मात्रै मेलापात जानुपर्ने बाध्यता छ,” उहाँले भन्नुभयो, “धपाउन खोज्दा उल्टै झम्टिन आउँछन्। हुनेखानेहरू त बजार गइसके, हामी सामान्य मान्छेलाई बाँदरले गर्दा उठिबास लगाउने अवस्था भयो।”

बरेङ–१ का तमबहादुर विकले पनि यसपटक पार्टी भन्दा पनि किसानका मर्म बुझ्ने उम्मेदवारलाई प्राथमिकता दिने बताउनुभयो। धेरै उम्मेदवारहरू आश्वासनको झोली बोकेर आइरहेको भए पनि किसानको मुख्य टाउको दुखाइ बनेको बाँदर नियन्त्रणको विषयमा कसैले ठोस खाका प्रस्तुत नगरेकोमा उहाँको गुनासो छ।

बागलुङका जैमिनी, बरेङ लगायतका क्षेत्रमा बाँदरले मकै, कोदो र तरकारी बाली सखाप पारेपछि धेरै किसानले खेती गर्नै छाडेका छन्। निर्वाचनको मुखमा उठेको यो ‘बाँदर नियन्त्रण एजेण्डा’ले उम्मेदवारहरूलाई भने थप दबाब सिर्जना गरेको छ।