मध्यपूर्वको तनावप्रति अध्यक्ष ओलीको चिन्ता: ‘नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुवाँ प्रवेश नगरोस्’
काठमाडौँ, १७ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मध्यपूर्वमा जारी मिसाइल आक्रमण र बढ्दो युद्धको चपेटाप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ।
उहाँले नेपालमा कुनै पनि बहाना वा आवरणमा ‘मिसाइलको धुवाँ’ प्रवेश गर्न नहुने भन्दै शान्तिको कामना गर्नुभएको छ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष ओलीले मध्यपूर्वका देशहरूमा रहेका लाखौँ नेपाली नागरिक यतिबेला ठुलो त्रासदी र कोलाहलमा रहेको उल्लेख गर्नुभएको छ। उहाँले आकाशबाट बर्सिएका मिसाइलका दृश्यले आफूलाई निद्रा नपरेको भन्दै परदेशमा रहेका नेपालीका परिवार यतिबेला नेपालमा पलपल छटपटिएर बस्नुपरेको बताउनुभयो।
“अवसरको खोजीमा खुला विश्वका नागरिक संसारभर आउनु–जानु स्वाभाविक हो,” ओलीले लेख्नुभएको छ, “तर अस्वाभाविक र खतरनाक कुरा भनेको युद्ध र भूराजनीतिक चपेटा हो। ती देशहरू पनि पक्कै युद्ध चाहँदैनथे, तर शक्ति राष्ट्रहरूको स्वार्थ घुसेपछि विवश हुनुपर्ने अवस्था आउँदो रहेछ।”
अध्यक्ष ओलीले नेपालले अहिलेसम्म सौभाग्यवश मिसाइलको धुवाँ भोग्नु नपरेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्तो परिस्थिति आउन नदिन सजग हुनुपर्नेमा जोड दिनुभएको छ। उहाँले मध्यपूर्वको विषम परिस्थितिमा रहेका नेपाली र उनीहरूका परिवारलाई धैर्यता धारण गर्न र सजग रहन आह्वानसमेत गर्नुभएको छ।