रङहरूको पर्व फागुपूर्णिमा हिमाल र पहाडमा आज हर्षोल्लासका साथ मनाइँदै
काठमाडौँ, १८ फागुन । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश बोकेको फागुपूर्णिमा पर्व आज हिमाली एवं पहाडी जिल्लाहरूमा हर्षोल्लासका साथ मनाइँदैछ ।
प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्वमा एकापसमा रङ र अबिर दलेर खुसी साटासाट गरिन्छ ।
पछिल्लो समय सुरक्षा निकायको सक्रियता र जनचेतनाका कारण फागु पर्व मनाउने शैली थप मर्यादित र सभ्य बन्दै गएको छ । विगतमा जस्तो इच्छाविपरीत रङ दल्ने वा लोला हान्ने विकृति न्यून हुँदै गएको छ । भक्तपुरबाट काठमाडौँ कामका लागि आउनुभएकी रमा केसी भन्नुहुन्छ, “यस वर्ष अघिल्लो दिनदेखि नै सडकमा ढुक्कसँग हिँड्न सकिने वातावरण बन्यो, युवतीहरूमाथि लोला हान्ने प्रवृत्ति झण्डै अन्त्य भएको छ ।”
होलीको मुख्य आकर्षण काठमाडौँको वसन्तपुरमा रहेको छ । फागुन शुक्ल अष्टमीमा गाडिएको ‘चिर’ लाई आज विधिपूर्वक ढालेर बाजागाजाका साथ टुँडिखेल पुर्याई दाह गरिन्छ । चिरको खरानीलाई टीकाका रूपमा लगाउँदा अनिष्ट टर्ने र खरानीमा प्रयोग भएका ध्वजापताकाहरू औषधोपचारमा काम आउने जनविश्वास छ । यस्तै, आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई तर्पण दिने परम्परा समेत रहेको छ ।
यो पर्व त्रेतायुगमा विष्णुभक्त प्रह्लादलाई मार्न खोज्ने राक्षसनी होलिकाको दहन भएको खुसियालीमा मनाउन थालिएको पौराणिक मान्यता छ । यसबाहेक द्वापरयुगमा पुतनाको बध भएको प्रसङ्ग पनि योसँग जोडिएको धर्मशास्त्रविद् प्रा. तोयराज नेपाल बताउनुहुन्छ ।
होलीमा प्रयोग गरिने प्राकृतिक रङ र अबिरले छालाको रोग निवारणमा सहयोग पुर्याउने आयुर्वेदको ठम्याइ छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका प्रमुख डा. वंशदीप शर्मा खरेलका अनुसार चिर बाल्दा निस्कने धुवाँले हिउँदका कीटाणुहरू नष्ट गर्ने हुनाले यसको आयुर्वेदिक महत्व समेत छ ।
हिमाली र पहाडी भेगमा आज सार्वजनिक बिदा दिइएको छ भने तराईका जिल्लाहरूमा भोलि मंगलबार होली मनाइनेछ ।