लागुऔषधसहित देशका विभिन्न स्थानबाट आठ जना पक्राउ

काठमाडौँ, फागुन २४ । देशका विभिन्न भागबाट प्रतिबन्धित लागुऔषध तथा औषधिजन्य पदार्थसहित आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार मोरङ, दाङ, कैलाली र कञ्चनपुरका विभिन्न क्षेत्रमा खटिएको गस्ती टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

मोरङको पथरी शनिश्चरे नगरपालिका–८, मङ्गलबारेबाट मानबहादुर दर्जीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । त्यसैगरी, दाङको घोराही उपमहानगरपालिका–१४ स्थित ‘न्यु मनकामना गेष्ट हाउस’बाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित दुई जनालाई नियन्त्रणमा लिइएको छ ।

यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका–३, चटकपुरबाट स्थानीय २३ वर्षीय अमन रानासहित दुई जना र कञ्चनपुरको कृष्णपुर नगरपालिका–२, स्याउले चोकबाट खैरो हेरोइन जस्तो देखिने पदार्थसहित २५ वर्षीय कुवेर शाही पक्राउ परेका छन् ।

पक्राउ परेका व्यक्तिहरूको साथबाट प्रहरीले कानुनद्वारा प्रतिबन्धित विभिन्न चिकित्सकीय औषधि र लागुपदार्थ बरामद गरेको छ । उनीहरूमाथि सम्बन्धित जिल्लाका प्रहरी कार्यालयहरूले थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाएको जानकारी दिइएको छ ।