सेयर बजारमा लगातार तेस्रो ‘सर्किट ब्रेक’ सँगै आजका लागि कारोबार स्थगित
काठमाडौँ, २५ फागुन । प्रतिनिधिसभा निर्वाचनको मतपरिणामले लगानीकर्तामा उच्च उत्साह थपेपछि सोमबार शेयर बजारमा ऐतिहासिक उछाल आएको छ।
खरिदकर्ताको अत्यधिक चापका कारण लगातार तेस्रो सकारात्मक ‘सर्किट ब्रेक’ लागेपछि आज (सोमबार) का लागि नेप्सेको सम्पूर्ण कारोबार स्थगित भएको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज बजार समग्रमा ६ प्रतिशत अर्थात् १६२ अङ्कले बढेको छ। यस भारी वृद्धिसँगै नेप्से परिसूचक २८७५ को बिन्दुमा पुगेर रोकिएको छ। लगातारको सर्किटले गर्दा छोटो समय मात्र खुलेको आजको बजारमा ५५ करोड ५९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
आज बजार खुल्नासाथ लगानीकर्ताको ओइरो लागेपछि पहिलो एक मिनेटमै ४ प्रतिशतले बजार बढेर पहिलो सर्किट ब्रेक लागेको थियो। नियमअनुसार २० मिनेटपछि पुनः खुलेको बजारमा अर्को एक मिनेटमै थप १ प्रतिशत (समग्रमा ५ प्रतिशत) को वृद्धि हुँदै दोस्रो सर्किट लागेको थियो।
दोस्रो सर्किटपछि ४० मिनेट स्थगित भएर खुलेको बजारमा एक मिनेट पनि बित्न नपाउँदै समग्रमा ६ प्रतिशतको वृद्धि भएपछि तेस्रो सर्किट लागेको हो। नेप्सेको विद्यमान नियमावलीअनुसार कारोबार समयमा ६ प्रतिशतले बजार बढे वा घटेमा त्यस दिनका लागि बाँकी सम्पूर्ण कारोबार बन्द गरिने व्यवस्था छ।