निर्वाचन अपडेट : १६१ सिटको नतिजा सार्वजनिक, १२४ सिटमा रास्वपाको वर्चस्व

काठमाडौँ, २५ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ (पहिलो हुने निर्वाचित हुने प्रणाली) हालसम्म १६१ निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। बिहीबार दिउँसो १ बजेसम्मको अद्यावधिक विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ स्थानमा सानदार जित हात पार्दै संसद्‌मा बलियो उपस्थिति सुनिश्चित गरेको छ।

निर्वाचन आयोगका अनुसार १६१ स्थानको नतिजा आउँदा रास्वपाका १२४ उम्मेदवार विजयी भएका छन् भने थप एक स्थानमा पार्टीले अग्रता कायम गरिरहेको छ।

प्रत्यक्षतर्फ दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १७ निर्वाचन क्षेत्रमा जित निकालेको छ भने थप एक स्थानमा अग्रता लिएको छ। त्यसैगरी, नेकपा (एमाले) ले ८ स्थानमा जित हासिल गर्दा एक क्षेत्रमा अगाडि रहेको छ।

अन्य दलहरूतर्फ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ७ जना उम्मेदवार विजयी भएका छन्। यसै निर्वाचनबाट उदाएको श्रम संस्कृति पार्टीले ३ सिट जितेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र स्वतन्त्र उम्मेदवारले एक–एक स्थानमा जित हात पारेका छन्। कुल १६५ निर्वाचन क्षेत्रमध्ये अब ४ स्थानको मात्र अन्तिम नतिजा आउन बाँकी छ।

समानुपातिकमा पनि रास्वपाकै फराकिलो अग्रता
गत फागुन २१ गते सम्पन्न निर्वाचनको समानुपातिकतर्फको मतगणना पनि निरन्तर अघि बढिरहेको छ। आयोगका अनुसार हालसम्म ८६ लाख ५३ हजार ४१६ मत गणना सम्पन्न भइसकेको छ।

समानुपातिकतर्फ पनि रास्वपाले अन्य दलहरूलाई निकै पछाडि छाड्दै सर्वाधिक ४१ लाख ८० हजार ३२२ मत प्राप्त गरेको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १३ लाख ९७ हजार ८७४ र तेस्रो स्थानमा रहेको एमालेले ११ लाख ८० हजार ७९४ मत सङ्कलन गरेका छन्।

यसैगरी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ६ लाख १४ हजार ३६०, श्रम संस्कृति पार्टीले ३ लाख ४ हजार ५७१ र राप्रपाले २ लाख ८३ हजार २२१ मत प्राप्त गरेका छन्। समानुपातिकतर्फको अन्तिम मतपरिणाम आउन अझै बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ।