ओखलढुङ्गामा प्रत्यक्षतर्फ हराएका मतपत्र समानुपातिकको बाकसमा भेटियाे

काठमाडौँ, २५ फागुन । ओखलढुङ्गामा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका क्रममा हराएका भनिएका प्रत्यक्षतर्फका मतपत्रहरू समानुपातिकतर्फको मतपेटिका (ढ्वाङ) मा भेटिएका छन्।

प्रत्यक्षतर्फको अन्तिम मतपरिणाम घोषणा भइसकेपछि समानुपातिकतर्फको मतगणना सुरु गर्दा ती मतपत्रहरू फेला परेको सहायक निर्वाचन अधिकृत सविनराज पाण्डेले पुष्टि गरेका छन्।

ओखलढुङ्गामा प्रत्यक्षतर्फको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ। जसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विश्वराज पोखरेलले नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइँटेललाई जम्मा ५ मतको झिनो अन्तरले पराजित गर्दै विजयी भएका छन्।

मतपरिणाम घोषणा हुनुअघि कांग्रेस उम्मेदवार लुइँटेलले मतदानका बेला गरिएको मुचुल्का र गणनामा भेटिएको मतसङ्ख्याबीच १८८ मतको फरक परेको भन्दै प्रश्न उठाएका थिए। उनले मतपत्र हराएको आशङ्का गर्दै पुनः मतगणनाको मागसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदनसमेत दिएका थिए।

समानुपातिकको बाकसमा भेटिएका मतपत्र के हुन्छन् ?
यस्तो अवस्थामा ती भेटिएका मतपत्रहरूको मान्यता के हुन्छ भन्ने धेरैको चासो रहेको छ। यद्यपि, ती मतपत्रहरू बदर गरिने निर्णय भइसकेको छ।

कांग्रेस उम्मेदवार लुइँटेलका अनुसार मतगणना सुरु हुनुपूर्व नै सर्वदलीय बैठकमा यस्तो सम्भावनाबारे सहमति भइसकेको थियो। “हामीले मतगणनाअघि नै सर्वदलीय मुचुल्कामा हस्ताक्षर गरेका थियौँ, जसमा प्रत्यक्षतर्फको मतपत्र समानुपातिकतर्फको ढ्वाङमा भेटिएमा त्यसलाई बदर गर्ने सहमति भएको थियो। त्यसैले ती मतपत्रहरू बदर भइसकेका छन्,” लुइँटेलले भने।

सहायक निर्वाचन अधिकृत पाण्डेले पनि निर्वाचन निर्देशिका र सर्वदलीय बैठकको मुचुल्काअनुसार नै काम भइरहेको स्पष्ट पारे।