प्रहरीको देशव्यापी अपरेसन : लागूऔषधसहित १४ जना पक्राउ
काठमाडौं, २६ फागुन । नेपाल प्रहरीले देशका विभिन्न जिल्लामा चलाएको कारबाहीका क्रममा लागूऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार सोमबार देशका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेमा सबैभन्दा बढी कैलालीका रहेका छन् । कैलालीको धनगढी उपमहानगरपालिकाका विभिन्न स्थानबाट प्रतिक चौधरी, विवेक चौधरी, नमराज बराइली र छत्रबहादुर विक पक्राउ परेका छन् भने लम्कीचुहा नगरपालिकाबाट रमेश दर्लामी मगर पक्राउ परेका छन् ।
यस्तै, बर्दियाको गुलरियाबाट गौरव पुन मगर, बाँकेको कोहलपुरबाट गोविन्द सुनार र दाङको तुलसीपुरबाट एक १८ वर्षीय किशोरलाई लागूऔषधसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, मकवानपुरको मनहरीबाट सन्तसिंह लामा र सन्तवीर मोक्तान पक्राउ परेका छन् । उता, पूर्वी नेपालको झापास्थित कमल गाउँपालिकाबाट लक्ष्मण राजवंशी र सुनसरीको इनरुवाबाट जेम्स राई तथा सिद्धार्थ चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कास्कीको पोखरा महानगरपालिका–९ शान्तिवनबाट सुनिल कमर पनि सोमबार साँझ पक्राउ परेका छन् ।
पक्राउ परेका सबैमाथि सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूबाट लागूऔषध नियन्त्रण ऐनअन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।