गाँजा र प्रतिबन्धित लागु औषधिसहित बारा र चितवनबाट तीन जना पक्राउ

काठमाडौँ, २७ फागुन । प्रहरीले अवैध लागुऔषध गाँजा र चिकित्सकको सिफारिसबिना बिक्री गर्न नपाइने औषधिसहित बारा र चितवनबाट तीन जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार, मङ्गलबार नियमित गस्तीमा रहेको प्रहरी टोलीले बाराको निजगढ नगरपालिका–११ स्थित रतनपुरबाट १२ किलो २३० ग्राम गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा जीतपुर सिमरा उपमहानगरपालिका–१९ इनर्वा सिरहाका ३५ वर्षीय फिरोज देवान र गौर नगरपालिका–९ का १९ वर्षीय तरबेज आलम रहेका छन् ।

यसैगरी, चितवनको भरतपुर महानगरपालिका–१८ स्थित लाहुरेचोकबाट पनि लागुऔषधको रूपमा प्रयोग हुने प्रतिबन्धित औषधिसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही महानगरपालिका–२३ का २९ वर्षीय सोम पाण्डे रहेका छन् ।

प्रहरीले पाण्डेको साथबाट चिकित्सकको सिफारिसमा मात्र खरिद–बिक्री गर्न पाइने २२० फाइल ‘ट्रामाडोल’ बरामद गरेको छ ।

मङ्गलबार पक्राउ परेका तीनै जनामाथि सम्बन्धित प्रहरी कार्यालयहरूबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।