सुर्खेत बालिका मृत्यु प्रकरण : दोषीमाथि कडा कारबाही र न्यायको माग

काठमाडौँ, फागनु २८ । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई लिएर दोषीमाथि कडा कानुनी कारबाही र पीडित परिवारलाई न्याय दिलाउन विभिन्न सङ्घसंस्थाहरूले जोडदार माग गरेका छन् । गत शनिबार वीरेन्द्रनगर नगरपालिका–४ स्थित सहिद उद्यानस्थित जनजागरण सामुदायिक वनमा भएको उक्त अमानवीय घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सुर्खेतका मानवअधिकारवादी तथा सामाजिक सङ्घसंस्थाहरूले संयुक्त विज्ञप्ति जारी गरेका हुन् । विज्ञप्तिमा घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनको कठघरामा उभ्याउन माग गरिएको छ ।

विज्ञप्ति जारी गर्ने संस्थाहरूमा मानवअधिकार रक्षक सञ्जाल कर्णाली र सुर्खेत, इन्सेक, दलित गैसस महासङ्घ, नवज्योति केन्द्र, एड्भोकेसी फोरम, महिला मानवअधिकार रक्षक सञ्जाल, आवाज, दलित सेवा सङ्घ, र सोसेक लगायत रहेका छन् । उनीहरूले महिला तथा बालिकामाथि हुने यौन हिंसा कुनै पनि बहानामा सह्य नहुने भन्दै सुरक्षित र न्यायपूर्ण समाज निर्माणका लागि राज्यका निकायहरूलाई थप सक्रिय र जिम्मेवार बन्न आग्रह गरेका छन् ।

यसैबीच, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पीडित परिवारलाई प्रत्यक्ष भेट गरी घटनाको निष्पक्ष र कानुनी ढङ्गले छानबिन हुने आश्वासन दिनुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत पीडित पक्षले न्याय पाउनेमा प्रदेश सरकार प्रतिबद्ध रहेको र दोषीले उन्मुक्ति नपाउने कुरा स्पष्ट पार्नुभएको छ ।

अनुसन्धान र कानुनी प्रक्रिया
जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनजङ्ग बुढ्थापाका अनुसार पीडित पक्षको उजुरीका आधारमा प्रहरीले मङ्गलबार वीरेन्द्रनगरबाट चार जनालाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिहरूमाथि ‘जबर्जस्ती करणी र कर्तव्य ज्यान’ सम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

पोस्टमार्टम प्रतिवेदनको निष्कर्ष
घटनाको गम्भीरतालाई ध्यानमा राखी भेरी अस्पताल बाँकेका फरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्यको टोलीले प्रदेश अस्पताल सुर्खेतमा बालिकाको शवपरीक्षण (पोस्टमार्टम) गरेको थियो । प्राप्त प्रतिवेदनअनुसार जबर्जस्ती करणीका कारण बालिकाको संवेदनशील अङ्गमा गम्भीर चोट पुगेको र अत्यधिक रक्तस्राव भएकाले उनको मृत्यु भएको पुष्टि भएको छ । यद्यपि, पीडित परिवारले हालसम्म शव बुझ्न मानेका छैनन् ।

घटनाको पृष्ठभूमि
गुर्भाकोट नगरपालिका-६ घर भई हाल वीरेन्द्रनगर-१ मा बस्दै आएकी १६ वर्षीया इनिशा उषा बालवाटिका स्कुलमा कक्षा ११ मा अध्ययनरत थिइन् । शनिबार बिहान ट्युसन पढ्न भनी घरबाट निस्किएकी उनी बिहान ९:०० बजेतिर सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी थिइन् । तत्काल प्रहरीले उनलाई प्रदेश अस्पताल पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । पीडित परिवारले फागुन २५ गते प्रहरीमा जाहेरी दिएका थिए ।