इनिसा विक हत्या प्रकरण : अनुसन्धानका लागि सीआईबी र पोलिग्राफ टोली सुर्खेतमा, न्याय नपाएसम्म शव नउठाउने परिवारको अडान

सुर्खेत, २८ फागुन । सुर्खेतमा बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया किशोरी इनिसा विकको घटनाको थप र सूक्ष्म अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली सुर्खेत आइपुगेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले घटनाको प्रारम्भिक अनुसन्धान सकेर थप तथ्य तथा प्रमाण सङ्कलनका लागि सीआईबीको सहयोग मागेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सुधीरराज शाहीका अनुसार सीआईबीका प्रहरी निरीक्षकको कमान्डमा रहेको विज्ञ टोली बिहीबार वीरेन्द्रनगर आइपुगेर अनुसन्धान थालिसकेको छ ।

प्रहरीले घटनासँग सम्बन्धित विभिन्न विद्युतीय सामग्रीहरू अनुसन्धानका लागि केन्द्रीय विधिविज्ञान प्रयोगशालामा पठाएको छ । शङ्कास्पद व्यक्ति र घटनास्थलबाट सङ्कलित सामग्रीको प्राविधिक र जैविक (बायोसेरोलोजिकल) परीक्षण भइरहेको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा प्रहरीले हालसम्म चार जनालाई नियन्त्रणमा लिएको छ । घटनास्थलबाटै एक जना र आइतबार थप तीन जनालाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार पक्राउ परेका पछिल्ला तीनै जना १८ वर्षमुनिका (नाबालक) हुन् ।