खाडीमा इरानी आक्रमण तीव्र : विश्व बजारमा कच्चा तेलको मूल्य १०० डलर नाघ्यो

एजेन्सी, २८ फागुन । मध्यपूर्वमा जारी द्वन्द्वका बीच इरानले खाडी क्षेत्रका ऊर्जा पूर्वाधार र व्यापारिक पानीजहाजलाई लक्षित गर्दै आक्रमण तीव्र पारेको छ । यसको प्रत्यक्ष असर विश्व ऊर्जा बजारमा परेको छ, जसका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघेको छ ।

बिहीबार बिहान मात्रै दुईवटा तेल ट्याङ्करमा आक्रमण भएलगत्तै तेलको मूल्यमा उछाल आएको हो । इरानले यो युद्ध लामो समय चल्न सक्ने र यसले ‘विश्व अर्थतन्त्रलाई नै तहसनहस पार्न सक्ने’ चेतावनी दिएपछि बजार थप त्रसित बनेको छ ।

विश्वको करिब २० प्रतिशत तेल आपूर्ति हुने होर्मुज जलडमरूमध्य पूर्ण रूपमा अवरुद्ध हुने जोखिम बढेको छ । इरानले खाडीबाट ‘एक थोपा तेल पनि निर्यात हुन नदिने’ धम्की दिएको छ ।

इराक नजिकै दुई तेल ट्याङ्करमा भएको आक्रमणमा एक जना चालक दलका सदस्यको मृत्यु भएको छ भने ३८ जनाको उद्धार गरिएको छ । त्यस्तै, युएई नजिकै एउटा कन्टेनर जहाजमा अज्ञात प्रक्षेप्यले प्रहार गर्दा आगलागी भएको छ भने अर्को एक थाई पानीजहाजमा आक्रमण हुँदा चालक दलका तीन सदस्य बेपत्ता भएका छन् ।

बढ्दो मूल्य र सङ्कट नियन्त्रण गर्न अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) ले ४० करोड ब्यारेल रणनीतिक भण्डार बजारमा पठाउने निर्णय गरेको छ, जसमा अमेरिकाले मात्रै १७ करोड २० लाख ब्यारेल उपलब्ध गराउनेछ । यद्यपि, विश्लेषकहरूले प्रतिब्यारेल ९० देखि १०० डलरको मूल्य केही समयका लागि ‘नयाँ सामान्य’ बन्न सक्ने बताएका छन् ।

इरानी ड्रोन तथा क्षेप्यास्त्र आक्रमणको त्रासले खाडी मुलुकहरूमा सुरक्षा चुनौती थपिएको छ । बहराइनले आफ्ना नागरिकलाई घरभित्रै बस्न र झ्याल बन्द राख्न आग्रह गरेको छ । साउदी अरेबियाले आफ्नो सायबाह तेल क्षेत्रतर्फ लक्षित ड्रोनलाई निस्तेज पारेको छ भने ओमानको सलालाह बन्दरगाहमा इन्धन ट्याङ्कीमा आक्रमण भएपछि त्यहाँको कामकाज आंशिक प्रभावित भएको छ ।

त्यस्तै, कुवेतमा आवासीय भवनमा ड्रोन खस्दा दुई जना घाइते भएका छन् भने युएईले पनि क्षेप्यास्त्रको सामना गरिरहेको जनाएको छ । इरानको रिभोलुसनरी गार्ड्सले अमेरिका र इजरायलसँग जोडिएका वित्तीय केन्द्रहरूलाई निशाना बनाउने चेतावनी दिएपछि केही अन्तर्राष्ट्रिय कम्पनीले दुबईबाट आफ्ना कर्मचारी फिर्ता बोलाउन थालेका छन् ।

यता, लेबनानमा इजरायली आक्रमण थप आक्रामक बनेको छ । इजरायली सेनाले हिजबुल्लाहका पूर्वाधार लक्षित व्यापक कारबाही जारी राख्दा लेबनानमा हालसम्म ६ सय ३० भन्दा बढीको ज्यान गइसकेको छ भने आठ लाखभन्दा बढी नागरिक विस्थापित भएका छन् । बेरुतका बासिन्दाहरू भवन भत्किने डरले रातभर खुला आकाशमुनि बस्न बाध्य छन् ।