एमाले अध्यक्ष ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि, ओलीले दिए मुखाग्नि (तस्बिरहरू)
काठमाडौं, २९ फागुन । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। अध्यक्ष ओलीले पिताको पार्थिव शरीरमा हिन्दू परम्पराअनुसार मुखाग्नि (दागबत्ती) दिनुभएकाे छ ।
९७ वर्षीय मोहनप्रसादको आज भक्तपुरको मध्यपुरथिमिस्थित नेपाल–कोरिया मैत्री नगर अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। एमाले अध्यक्ष ओलीको सचिवालयका अनुसार, भक्तपुरको गठ्ठाघरस्थित छोरीको निवासमा बस्दै आएका उहाँलाई गएराति स्वास्थ्यमा अचानक समस्या देखिएपछि अस्पताल पुर्याइएको थियो। अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको हो।
पशुपति आर्यघाटमा अन्त्येष्टि गर्नुअघि अस्पताल प्राङ्गणमै उहाँको पार्थिव शरीरमा विभिन्न राजनीतिक दलका शीर्ष नेता, एमालेका नेता–कार्यकर्ता, परिवारका सदस्य र आफन्तहरूले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए।
पछिल्लो समय उहाँ भक्तपुरमा छोरीसँगै बस्दै आएका थिए। गत भदौ २३ र २४ गते भएको ‘जेन–जी’ आन्दोलनका क्रममा झापास्थित उहाँको घरमा आगजनी भएको थियो। त्यसयता उहाँ झापा पुग्नुभएकाे छैन ।