इन्धनको मूल्य बढेपछि यातायात व्यवसायीद्वारा भाडा समायोजनको माग
काठमाडौं, २ चैत्र । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेसँगै यातायात व्यवसायीहरूले सार्वजनिक यातायातको भाडा समायोजन गर्न सरकारसँग माग गरेका छन्।
देशभरका यातायात व्यवसायीहरूको छाता सङ्गठन ‘नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ’ले इन्धनको मूल्यवृद्धिको प्रत्यक्ष असर व्यवसायी र यात्रुमा परेको भन्दै तत्काल भाडादर परिमार्जन गर्न दबाब दिएको हो।
महासङ्घका महासचिव डेकनाथ गौतमले एक विज्ञप्ति जारी गर्दै आयल निगमको कदमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। निगमले गएरातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र डिजेल/मट्टितेलमा १० रुपैयाँले मूल्य बढाएको थियो।
विज्ञप्तिमा भनिएको छ, “आम उपभोक्ता र व्यवसायीको हितलाई बेवास्ता गर्दै एकाएक गरिएको भारी मूल्यवृद्धिले देशभरको यातायात सेवा सञ्चालनमा गम्भीर असर परेको छ। सार्वजनिक यातायात पूर्ण रूपमा इन्धनमै निर्भर हुने भएकाले मूल्यवृद्धिको भार व्यवसायीले मात्र थेग्न सक्दैनन्।”
महासङ्घले इन्धनको मूल्य घटबढ हुँदा लागू हुने ‘स्वचालित भाडा समायोजन प्रणाली’ तत्काल कार्यान्वयन गर्न यातायात व्यवस्था विभागलाई आग्रह गरेको छ। सङ्घीय रुट (अन्तरप्रदेश) को भाडा विभागबाट र प्रदेशभित्र चल्ने सवारीसाधनको भाडा सातवटै प्रदेशका सम्बन्धित मन्त्रालयबाट यथाशीघ्र समायोजन गर्न महासङ्घले माग गरेको छ।
यसका साथै, भाडा बढाउनुपर्ने बाध्यता सिर्जना हुनुमा आयल निगमको कमजोरीसमेत रहेको व्यवसायीको ठहर छ। महासङ्घले आयल निगमभित्र हुने आन्तरिक चुहावट र अनियमितता नियन्त्रण गर्न तथा वैज्ञानिक विधि अपनाएर पेट्रोलियम पदार्थको सहज आपूर्ति व्यवस्था मिलाउनसमेत सरकारको ध्यानाकर्षण गराएको छ।