नारायणीको कटानबाट सुस्ता जोगाउन १७ करोड लागतमा तटबन्ध निर्माण सुरु, वर्षाअघि नै सक्ने लक्ष्य

नवलपरासी, ३ चैत्र । नारायणी नदीको तीव्र कटानबाट नवलपरासी (बर्दघाट सुस्तापूर्व) स्थित ऐतिहासिक सुस्ता क्षेत्र र गजेन्द्र मोक्षधामलाई जोगाउन तटबन्ध निर्माणको काम सुरु गरिएको छ। करिब १७ करोड रुपैयाँ लागतमा सुरु भएको यस आयोजनालाई आगामी वर्षायाम अगावै सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय, भरतपुरका प्रमुख डा. नारायण सुवेदीका अनुसार फागुनको अन्तिम सातादेखि तटबन्ध निर्माणको काम थालिएको हो। समयमै काम सम्पन्न गर्नका लागि निर्माणस्थलमै अस्थायी कार्यालय स्थापना गरी प्राविधिक तथा कर्मचारीको निगरानीमा २४सै घण्टा काम भइरहेको प्रमुख सुवेदीले जानकारी दिनुभयो।

यसैबीच, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडीले सोमबार उक्त निर्माण कार्यको स्थलगत अनुगमन गर्नुभएको छ। निरीक्षणका क्रममा सचिव दवाडीले सीमावर्ती सुस्ता क्षेत्रको संरक्षण गर्नु सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभयो।

“सुस्ता क्षेत्रको संरक्षणका लागि सरकारले प्राथमिकताका साथ काम अघि बढाएको छ,” अनुगमनका क्रममा उहाँले भन्नुभयो, “यहाँ भइरहेको सरकारी लगानीको सदुपयोग र कामको वास्तविक अवस्था बुझ्न म स्थलगत अनुगमनमा आएकी हुँ।”

अनुगमनपछि आयोजनाको कामको गति र प्रगतिप्रति सन्तुष्टि (प्रशंसा) व्यक्त गर्दै सचिव दवाडीले तोकिएको समयमै तटबन्ध निर्माण सम्पन्न भई स्थानीयले राहत पाउने विश्वास व्यक्त गर्नुभएको छ। तटबन्ध निर्माण सम्पन्न भएपछि नारायणी नदीको कटानको जोखिममा रहेका सुस्तावासीले ठूलो राहत महसुस गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *