करार नवीकरण गर्न १ लाख घुस लिने चौरजहारीका मेयर र दिने कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं,३ चैत्र । करारका कर्मचारीको म्याद नवीकरण गरिदिने सर्तमा घुस लेनदेन गरेको आरोपमा रुकुमपश्चिमको चौरजहारी नगरपालिकाका नगर प्रमुख (मेयर) पुष्प वादी र असिस्टेन्ट सब–इन्जिनियर मोहन शाहविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिने मेयर र दिने कर्मचारी दुवैविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।
अख्तियारका अनुसार, आर्थिक वर्ष २०७९/०८० मा करार सेवाको म्याद थप गरिदिने सर्तमा मेयर वादीले कर्मचारी शाहसँग १ लाख रुपैयाँ घुस लिएका थिए। शाहले २०८० साउन ८ गते मेयर वादीको बैंक खातामै उक्त रकम जम्मा गरिदिएको प्रमाण अनुसन्धानका क्रममा फेला परेको छ।
बैंक खातामा रकम जम्मा गरेपछि शाहको असिस्टेन्ट सब–इन्जिनियर पदको म्याद थपिएको थियो। तर, पुनः आर्थिक वर्ष २०८२/०८३ का लागि म्याद नवीकरण गर्न मेयरले थप रकम माग गरेको र उक्त रकम बुझाउन नसकेपछि शाहलाई सेवाबाट हटाइएको उजुरी अख्तियारमा परेको थियो। सोही उजुरीका आधारमा अख्तियारले अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धानबाट मेयर वादीले पदीय दुरुपयोग गरी सेवामा निरन्तरता दिलाइदिने प्रलोभनमा घुस लिएको पुष्टि भएको अख्तियारको दाबी छ। आयोगले मेयर वादीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिमको कसुरमा १ लाख रुपैयाँ बिगो कायम गरी कैद, जरिवाना र घुस रकम जफतको मागदाबी गरेको छ। साथै, उनी सार्वजनिक पद धारण गरेका (निर्वाचित) व्यक्ति भएकाले कानुनबमोजिम थप सजायसमेत माग गरिएको छ।
त्यसैगरी, आफ्नो पदमा निरन्तरता पाउनका लागि मोलाहिजा गरी घुस दिने असिस्टेन्ट सब–इन्जिनियर शाहविरुद्ध पनि सोही ऐनको दफा ३ को उपदफा (३) बमोजिमको कसुरमा मुद्दा दायर गरिएको छ। शाहमाथि पनि १ लाख रुपैयाँ नै बिगो कायम गरी कैद, जरिवाना र रकम जफतको मागदाबीसहित अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।