कैलालीमा भरुवा बन्दुक प्रहार गरी श्रीमतीको हत्या, श्रीमान्‌द्वारा आत्महत्याको प्रयास

कैलाली, ५ चैत । कैलालीको गोदावरी नगरपालिकामा पारिवारिक विवादका क्रममा एक पुरुषले गोली हानी आफ्नै श्रीमतीको हत्या गरेका छन् । श्रीमतीको हत्यापछि आफैँमाथि गोली प्रहार गरेका ती पुरुष गम्भीर घाइते भएका छन् ।

गोदावरी नगरपालिका–४, अमेलेशैनीका ३१ वर्षीय रामबहादुर मगरले २७ वर्षीया श्रीमती सञ्जिता मगरमाथि भरुवा बन्दुक प्रहार गरेका हुन् । बन्दुकको गोली लागेर सञ्जिताको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

आफैँमाथि गोली हानेर बेहोस अवस्थामा रहेका रामबहादुरलाई उद्धार गरी उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल पुर्‍याइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

प्रहरीका अनुसार बुधबार अपराह्न गाउँ नजिकैको जङ्गलमा बाख्रा चराउन गएका बेला श्रीमान् र श्रीमतीबीच विवाद भएको थियो । विवादकै क्रममा रामबहादुरले आफूसँगै रहेको भरुवा बन्दुकले श्रीमतीमाथि गोली चलाएको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

स्थानीय बासिन्दाले गए राति मात्रै घटनाबारे खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो । प्रहरी प्रवक्ता तिमिल्सिनाले भने, “प्रहरी टोली घटनास्थलमै छ र अनुसन्धान जारी छ । घटना कुन समयमा भएको हो भन्ने यकिन भइसकेको छैन ।”

हाल घटनास्थल सुरक्षित राखिएको र मृतक महिलाको माइती पक्ष आइपुगेपछि मात्र मुचुल्का उठाएर शव परीक्षणका लागि पठाइने तयारी भइरहेको प्रहरीले जनाएको छ ।