कैलालीमा ट्रकको ठक्करबाट गोरुगाडामा सवार दम्पतीको मृत्यु
कैलाली, ५ चैत । कैलालीको कैलारी गाउँपालिकामा पछाडिबाट आएको ट्रकले गोरुगाडालाई ठक्कर दिँदा त्यसमा सवार एक वृद्ध दम्पतीको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार, कैलारी गाउँपालिका–५ बजैपुरमा गएराति भएको दुर्घटनामा परी स्थानीय ६० वर्षीय कलसु चौधरी र उनकी ७० वर्षीया श्रीमती सेतानु चौधरीको मृत्यु भएको हो ।
ना. ६ ख ७७८ नम्बरको ट्रकले उनीहरू सवार गोरुगाडालाई पछाडिबाट ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका दम्पतीलाई तत्काल उद्धार गरी उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल पुर्याइएको थियो । तर, उपचारकै क्रममा दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी गोरुगाडा तानिरहेका दुवै गोरुको समेत घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।
ठक्कर दिने ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना कसरी हुन पुग्यो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।