१६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या: न्याय माग्दै माइतीघरमा युवाहरूको प्रदर्शन

काठमाडौं, ६ चैत । सुर्खेतको वीरेन्द्रनगरमा सामूहिक बलात्कारपछि निर्ममतापूर्वक हत्या गरिएकी १६ वर्षीया इनिसा विकका हत्यारालाई कडा कारबाहीको माग गर्दै सङ्घीय राजधानी काठमाडौंमा प्रदर्शन भएको छ। शुक्रबार माइतीघर मण्डलामा स्वतस्फुर्त रूपमा भेला भएका युवाहरूले पीडितलाई न्याय र दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन सरकारलाई दबाब दिएका हुन्।

महिला तथा बालिकामाथि हुने सबै प्रकारका जघन्य अपराध र हिंसा अन्त्य गर्न राज्यले कडा कानुनी व्यवस्था गर्नुपर्ने प्रदर्शनकारीहरूको मुख्य माग छ। उनीहरूले अपराधीलाई छिटोभन्दा छिटो पक्राउ गर्न र महिला सुरक्षाका लागि ठोस नीति बनाएर कडाइका साथ कार्यान्वयन गर्न सरोकारवालाको ध्यानाकर्षण गराएका छन्।

प्रदर्शनमा सहभागी युवाहरूले राज्यको मौनता तोड्न विभिन्न नारा लेखिएका प्लेकार्ड र ब्यानर बोकेका थिए।

सुर्खेतको गुर्भाकोट नगरपालिका–६ स्थायी घर भई वीरेन्द्रनगरमा बस्दै आएकी इनिसा गत फागुन २३ गते बिहान ट्युसन पढ्न भनी घरबाट निस्किएकी थिइन्। अबेरसम्म पनि उनी घर नफर्किएपछि परिवारले खोजी सुरु गरेको थियो। त्यसक्रममा उनी वीरेन्द्रनगर–४ स्थित शहीदपार्क नजिकैको सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी थिइन्।

प्रहरीका अनुसार उनको पोस्टमार्टम रिपोर्टले बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको पुष्टि गरिसकेको छ। घटनाको प्रकृति हेर्दा सामूहिक बलात्कार भएको आशङ्का गरिएको छ। हाल प्रहरीले यस जघन्य अपराधको सूक्ष्म अनुसन्धान गरिरहेको र घटनामा संलग्न अपराधीहरूको खोजी कार्य तीव्र पारिएको जनाएको छ।