सिरहा बम विस्फोट प्रकरण: अनुसन्धानका लागि लेखापढी व्यवसायी पक्राउ
काठमाडौँ, चैत ६ । सिरहा जिल्ला अदालत अगाडि अवस्थित बार एसोसिएसनको कार्यालयमा भएको बम विस्फोटको घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सुखिपुर नगरपालिका–३ निवासी गुमस्ता यादव रहेका छन् । यादवले जिल्ला अदालत परिसरमै लामो समयदेखि लेखापढी व्यवसाय सञ्चालन गर्दै आएका थिए । उनलाई शङ्कास्पद भूमिकामा देखिएको आधारमा नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (DSP) रमेशबहादुर पालका अनुसार पक्राउ परेका यादवमाथि विगत चार दिनदेखि हिरासतमा राखी सोधपुछ र अनुसन्धान भइरहेको छ । “घटनाको गहिराइमा पुग्न हामीले सूक्ष्म अनुसन्धान गरिरहेका छौँ,” डीएसपी पालले भन्नुभयो, “अनुसन्धान निष्कर्षमा पुगेपछि मात्र थप तथ्य र विवरणहरू सार्वजनिक गरिनेछ ।”
गत फागुन २७ गते बार एसोसिएसनको कार्यालयमा कुकर बम विस्फोट भएको थियो । उक्त आत्मघाती प्रकृतिको विस्फोटमा परी सिरहा नगरपालिका–१ का कर्मचारी सौरभ यादव घाइते भएका थिए । विस्फोटबाट कार्यालयका कम्प्युटर, फर्निचर लगायतका भौतिक सामग्रीमा समेत उल्लेख्य क्षति पुगेको थियो ।